बाँपीझ्याला, एजेन्सी । पाकिस्तानको खैबर-पख्तुनख्वा प्रान्तीय सरकारले भारतीय दिग्गज अभिनेता दिलीप कुमारको पेशावरमा रहेको पैतृक घरलाई संग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । पाकिस्तानको प्रान्तीय सरकारको निर्णयलाई ९७ वर्षीय अभिनेताले खुसीखुसी स्वागत गरेका छन् ।
अभिनेताले उनको बाल्यकाल सोही घरमा हजुरबुबा, हजुरआमा, आमाबुबा, काका-काकीसँग बिताएका थिए । अभिनेता दिलीप कुमारले खुसी हुँदै त्यहाँ पेशावरमा रहेकाहरुलाई उनको पैतृक घरको फोटो भए उनलाई ट्विटरमा ट्याग गर्न आग्रह पनि गरेका छन् ।
उनले यो निर्णय भएसँगै लगातार ट्विटरमा आफ्नो बाल्यकाल सम्झिएका छन् । आफ्नी आमाले धेरै समय भान्साकोठामा बिताउने दिन सम्झिँदै उनी लेख्छन्, “मेरी सोझी अनि नाजुक आमा सधैं भान्साकोठामा हुन्थिन् र म सानो केटा कहिले उनी आफ्नो सबै काम सकाएर भान्साबाट निस्किन्छिन् र उनको छेउमा बसेर उनको सुन्दर अनुहार हेर्न पाउँछु भन्दै कुरेर बस्थेँ ।”
साथै उनले हजुरआमाले उनी एक्लै घरबाहिर नजाओस् भनेर भूतको कथाहरु सुनाउने गरेको पनि सम्झिन्छन् । उनले यो पनि उल्लेख गरे कि उनको घर सधैं परिवारका सदस्यहरुको ‘बकबक र हाँसो’ ले भरिएको हुन्थ्यो ।