१८ असोज, बाँपीझ्याला, लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका १ उदीपुर बजार नजिकै डुडाँमुख घुम्तीमा यात्रुबाहक मिनीबस दुर्घटना हुँदा शनिबार बेलुकी एकजनाको मृत्यु भएको छ ।
बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीका लागि छुटेको ग १ ख ६५०१ नम्बरको मिनीबस बेलुका पौने ८ बजेतिर दुर्घटना हुँदा बेंसीसहर नगरपालिका १ धिमिरेगाउँका अन्दाजी २६ बर्षीय अर्जुन परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार अन्य चारजना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।
घाइते हुनेमा राइनास नगरपालिका ८ का १९ बर्षीय सुदिप नेपाली, चालक बेंसीसहर नगरपालिका ४ पुरानोकोटका २८ बर्षीय मनोज गुरुङ, सहचालक बेंसीसहरका ४ कै १८ बर्षीय दिपेन्द्र गुरुङ, र बेंसीसहर नगरपालिका १ उदिपुरका प्रकाश बुढाथोकी रहेका छन् ।
चालक मनोज र बसमा सवार सुदिपको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दुईजनाको उपचार हुन नसकि चितवन रिफर गरिएको छ ।
सहचालक दिपेन्द्रको अस्पतालमै उपचार भइरहेको छ । प्रकाश भने सामान्य घाइते भएको र घरमै रहेको प्रहरीले बताएको छ । सोधपुछका लागि उनको घरमा प्रहरी टोली खटिएका छन् ।
प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार उक्त बस सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो । बसले घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । बस तिब्र गतिमा चलाएको पनि हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।