१४ असाेज, बाँपीझ्याला, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक दुरी कायम गरेर देशव्यापी आन्दोलन गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको उनी निकटका नेताहरुको बैठकले सरकारका पछिल्ला गतिविधिका बारेमा आन्दोलनमा जाने विषयमा छलफल भएको थियो ।
आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्ताव लैजाने र केन्द्रीय समितिको बैठकले नै आन्दोलनका बारेमा निर्णय लिने सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिए ।
बूढानिलकण्ठमा देउवा समूहका नेतामात्रै छलफलमा थिए । बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको ज्ञापनपत्रका बारेमा १९ गते नै जानकारी गराउने पनि निष्कर्ष निकालेको छ ।
त्यसैगरी केन्द्रीय समितिको बैठकबाटै संसद्को विशेष अधिवेशन आह्वानका लागि सरकारलाई दबाब दिने कार्यक्रम पनि तय गर्नुपर्ने निष्कर्ष देउवा समूहका नेताहरुको रहेको थियो ।