अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखामा क्रियासिल नागरिक समाजका संघ संस्थाले आफुले गर्दै आएका गतिविधिहरुको असल अभ्यास तथा सिकाईलाई एक आसपमा आदान प्रदान गरेका छन् ।
दोलखा जिल्ला समन्वय समिति दोलखाले हुराडेक नेपाल दोलखासँगको समन्वयमा मंगलबार आयोजना गरेको गैह्सरकारी संस्थाहरुको असल अभ्यास तथा सिकाई आदान प्रदान गोष्ठीमा जिल्लामा कार्यरत १५ वटा नागरिक समाजका संस्थाले आफुले सञ्चालन गर्दै आएका गतिविधिहरुको असल अभ्यास र सिकाईबारे प्रस्तुती गरेका थिए । कार्यक्रममा दोलखा जिल्लामा कार्यरत ३३ वटा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा ग्रामीण विकास टुकी संघ, दोलखा ग्रामीण पुर्ननिर्माण संस्था, हुराडेक नेपाल दोलखा, तयार नेपाल, सुआहारा परियोजना, सिविन नेपाल, सेवक नेपाल, ग्रामीण उद्यम विकास केन्द्र, आवाज नेपाल, वान हार्ट नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखा, अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, मेरी स्टोप्स लेडिज, नाम्सालिङ सामुदायिक विकास केन्द्र लगायत संस्थाले आफ्ना असल अभ्यास तथा सिकाईबारे एक आपसमा छलफल गरेका थिए ।
कार्यक्रममा अध्यक्षता गर्नु हुँदै दोलखा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले चौमासिक रुपमा जिल्ला समन्वय समितिले जिल्लामा कार्यरत गैसस विच असल अभ्यास तथा सिकाई आदान प्रदान कार्यक्रम आयोजना गर्ने बताउँनु भयो । सो अवसरमा पाण्डेले जिल्लामा कार्यरत गैरसरकारी संघ संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर मात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भयो ।
जिल्ला समन्वय समिति दोलखाका हालै सम्पन्न चौथो जिल्ला सभाले व्यवस्थित सूचना केन्द्र स्थापना गर्ने निर्णय भन्दै पाण्डे सूचना केन्द्रका लागि पुर्ण विवरण उपलब्ध गराउन सबै नागरिक समाजका संस्थालाई आग्रह गर्नु भयो । सो अवसरमा पाण्डेले जिल्लामा क्रियासिल गैससहरुलाई आफ्नो आन्तरिक सुशासनलाई बलियो बनाउन र पारदर्शीता अपनाउन आग्रह गर्नु भयो ।