Search

कामको मान कुलमान

कामको मान कुलमान

बाँपीझ्याला, काठमाण्डौं ।

जताततै अव्यवस्था र बेथितिका कारण समाजमा व्याप्त निराशाबीच सार्थक काम गर्ने जो कोही पात्र जनतामाझ स्थापित हुनसक्छन् । कुलमानले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए । आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए । कुलमान भन्ने बितिकै नेपाली जनताको मानस पटल भित्र रहेको ढुकढुकी मध्येको एक व्यक्तित्व पर्नु हुन्छ । जसले १८ घण्टाको लोडसेडिङबाट घटाएर शुन्य गरी जनतालाई २४ घण्टा उज्यालो दिन सफल भए । ईमान्दार र निष्ठापुर्वक काम गरे के सफल हुदैन भन्ने ज्वलन्त उदाहरण कुलमानले दिएको छ ।


शेखर खरेल

संसारमा त्यस्ता मुलुक सायदै पाइएलान् जहाँ मानिसले योग्य र इमानदार हुनुको दण्ड भुक्तान गर्नुपर्ने हुन्छ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ति उपरको सरकारको ‘रिजर्भेसन’ ले यस्तै संकेत गर्दछ । सरकारले कुलमानको पुनः नियुक्तिलाई लिएर कुनै औपचारिक धारणा सार्वजनिक गरिसकेको त छैन ।

तर पनि, पटक–पटक बसेको मन्त्रिपरिषद्को बैठकमा उनको नियुक्तिलाई लिएर कुनै छलफल नै नहुनुले सरकार उनको पुनः नियुक्तिप्रति सकारात्मक छैन भन्ने कुरा सहजै बुझ्न सकिन्छ । सँगसँगै कुलमानको समर्थनमा उर्लिएको जनलहरका कारण उनको बदला कुनै अर्को पात्र नियुक्त गर्न सरकार धर्मराएको पनि हुन सक्छ । आफ्नो अब्बल कार्यसम्पादनबाट सर्वत्र वाह्वाही कमाएका कुलमान सहजै दोस्रो कार्यकाल प्रवेश गर्ने आम अपेक्षा थियो । उनको पुनः नियुक्ति सरकारका निम्ति पनि किञ्चित माथापच्चीको विषय थिएन ।

तर, परिदृश्य सोचिए वा अनुमान गरिए झैं देखिंदैन । प्रधानमन्त्री केपी शर्मा ओली कुलमानको पुनः नियुक्तिप्रति सकारात्मक छैनन् भन्ने कुरा सुनिंदै आएको थियो । तर, १८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको संस्थालाई आफ्नो कार्यकालमा क्रमशः नाफामा ल्याउँदै रु. ५ अर्बको सञ्चित नाफामा पु¥याएका कुलमान कसरी प्रम ओलीको ‘समृद्धि’ का लागि व्यवधान भइरहेका छन् भन्ने प्रश्नले अन्य देशवासी झैं यस पंक्तिकारको मनभित्र पनि झुत्ती खेलिरहेको छ । हुन पनि, पछिल्ला घटनाक्रमको विश्लेषणले ओली कुलमानप्रति सकारात्मक छैनन् भन्ने शंकालाई पुट मिल्दछ । कुलमानको कार्यकाल सकिनुपूर्व नै विभागीय (ऊर्जा) मन्त्रीले मन्त्रिपरिषद् बैठकमा पुनः नियुक्तिको प्रस्ताव उठाएका थिए, जसलाई प्रम ओलीले ‘कानूनी व्यवस्था के छ हेर्नुपर्छ’ भन्दै पन्छाएको भन्ने खबर पनि आए ।

त्यस उप्रान्त कैयौं पटक मन्त्रिपरिषद्को बैठक बसिसकेको छ, तर यस सम्बन्धमा न कानूनी व्यवस्था हेरिएको खबर प्रसार भएको छ न त प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त नै गरिएको छ । कानूनी कुरा गर्ने हो भने सरकारले चाहेको जो–कोहीलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सक्छ । ती व्यक्ति सरकारद्वारा सीधै वा पछिल्लो पल्ट कुलमान स्वयम नै खुला प्रतियोगिता मार्फत प्रवेश गरे झंै नियुक्त हुन सक्नेछन् ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ मा प्राधिकरणको प्रमुख कार्यकारी नेपाल सरकारले तोक्न सक्ने स्पष्ट व्यवस्था छ । लोडसेडिङ अन्त्यको जस सम्पूर्ण रूपमा कुलमान एक्लैले लिएको र उनी व्यक्तिगत प्रचारवाजीमा लागेको भन्ने आरोप प्रम र उनी निकट समूहको रहेको भन्ने सुन्नमा आएको छ । यद्यपि सार्वजनिक वृत्तमा कतै पनि कुलमानले लोडसेडिङ अन्त्यको एकल जस लिएको सुनिएकोरपढिएको छैन। आफूलाई निर्देशन दिने राष्ट्रका कार्यकारी प्रमुख, विभागीय मन्त्री र सचिवदेखि आफू मातहतका सहकर्मी सबैलाई उनले यस उपलब्धिको सामूहिक जस दिंदै आएका छन् । रह्यो कुरा प्रचारवाजीको, यस कुराको साक्षी यो पंक्तिकार स्वयं नै हो ।

कुलमान घिसिङको चारवर्षे कमाण्डः वर्षौं थलिएको प्राधिकरणले यसरी मा¥यो फड्को सार्वजनिक परिदृश्यमा विगत चार वर्षदेखि मात्र देखिएका कुलमानलाई यस पंक्तिकारले चिनेको करीब चालीस वर्ष वितिसकेको छ, विद्यालयकालदेखि । पंक्तिकारले कुलमानमा आत्मश्लाघा वा आत्ममुग्धता कहिल्यै महसूस गरेको छैन । अंग्रेजीमा भनिने ‘सेल्फ–मेड’ उनी लो–प्रोफाइलमा रहेर काम गर्न रुचाउने व्यक्ति हुन् । प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुअघि उनले रसुवाको चिलिमे जलविद्युत् परियोजनालाई एउटा नमूना आयोजनाका रूपमा स्थापित गर्दै आफ्नो अब्बल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका थिए । स्थानीय आयोजनाको स्वामित्व स्थानीय बासिन्दा समेतलाई दिएर उज्यालो सँगसँगै आर्थिक लाभांश दिने उनको रणनीति विकेन्द्रीकरण, समावेशिता र अझ ‘समाजवाद उन्मुख’ शासनपद्धतिको एउटै अप्रतिम उदाहरण हो ।

विडम्बना के भने, उच्च व्यवस्थापकीय कौशल प्रदर्शन गरिरहेका उनलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले जिम्मेवारीबाट हटाउँदै जगेडामा फालिदिइन् । त्यतिवेला उनी आफ्नो फरियाद बोक्दै मिडियासमक्ष पुगेनन्, बरू फुर्सदको समयलाई स्वाध्ययनमा खर्चिए । लो–प्रोफाइलका कुलमानलाई उनी नियुक्त भएकै वर्ष २०७३ सालको एउटा घटनाले एकाएक हाइ–प्रोफाइलमा पुर्याइदिएको थियो । विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख त्यतिबेला को थियो — आम नागरिकलाई रत्तिभर सरोकार थिएन । उनीहरू उमंगका साथ त्यस वर्षको तिहार (लक्ष्मी पूजा) मनाइरहेका थिए, शहर (खासगरी काठमाडौं उपत्यका) झिलमिली बत्तीले धपक्कै बलेको थियो ।

रात छिप्पिंदै थियो, तर त्यस दिन चमत्कार भइदियो । तिहार उत्कर्षमा पुगेको बेला शहरको ‘फ्युज’ उडिदिएन । आश्चर्यचकित नगरवासी त्यो चमत्कारको पछाडि कसको हात छ भन्नेतिर जान्न बुझ्न शुरू गरे। तिहार मात्र के, त्यसपछिका दिनमा कसैका घरमा पनि उज्यालको ‘फ्युज’ गएन । र, यसैबीच त्यो चमत्कार पछाडिको चेहरा कुलमान घिसिङ सबैको मनप्रिय हुन थाले । कुलमानप्रतिको समर्थनको आयतन फैलिंदो छ । गुणग्राही नेपालीजन उनीप्रति कृतज्ञता जनाउन त चाहन्छन् नै, उनीहरू आफ्नै भविष्य उपर पनि चिन्तित देखिन्छन् । योग्यको बदला अयोग्य नियुक्त हुँदा कतै लोडसेडिङ हुने त होइन भन्ने आशंकाले उनीहरूलाई बेचैन बनाएको छ ।
सम्वत् २०७४ को हिमाल खबरपत्रिकाको नयाँ वर्ष विशेष अङ्कको ‘थिम’ आशा थियो, जसको आवरणमा कुलमानको तस्वीर राख्ने निर्णय सम्पादकीय समूहले गरेको थियो ।

फोटो सेसनको चाँजोपाँजो मिलाउने जिम्मा यस पंक्तिकारले लिएको थियो । आफ्ना अभिन्न मित्रको फोटो खिचाउनु उसले ‘चुट्की’ को काम सम्झेको थियो । तर, कुलमान पंक्तिकारको सन्देश ‘बेवास्ता’ गर्दै फोटोसेसन टारिरहे । अन्ततः नेपाल पर्यटन बोर्ड परिसरमा आयोजित एक कार्यक्रममा उनलाई संयोगवश हिमालखबरका फोटोग्राफरले फेला पारे र फोटो सेसन त्यही नै भयो । आत्मप्रचारदेखि कोसौं पर रहन रुचाउने र मिडियावाजीमा रौं बराबर पनि रुचि नभएका कुलमानप्रति ‘प्रचारमुखी’ को आरोप लगाउनेहरूप्रति यो पंक्तिकारको दया जाग्दछ । चिलिमे जलविद्युत् योजनाबाट हठात् हटाइँदा रसुवा जिल्लावासी कुलमानको पुनर्वहालीका निम्ति आन्दोलनमा उत्रिएका थिए । अहिलेको परिदृश्य भने विल्कुलै भिन्न छ ।

जिल्लाको आयोजनाबाट उठेका उनी राष्ट्रिय व्यक्तित्व बनिसकेका छन् । त्यसैले उनको पुनःनियुक्ति हुन नसक्ने शंका मात्रले पनि जनता कोभिड–१९ को संक्रमण बेवास्ता गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । आफ्नो समर्थनमा उर्लंदो जनलहरले संक्रमणको जोखिमका साथै शान्ति सुरक्षामा चुनौती पैदा हुनसक्ने तथ्यबारे जानकार कुलमानले त्यस्तो जुलूस, आन्दोलन वा प्रतिरोध नगरिदिन अनुरोध गरेका छन् । तर, उनीप्रतिको समर्थनको आयतन फैलिरहेको छ । किनकि, गुणग्राही नेपाली जनता कुलमानप्रति कृतज्ञता जनाउन त चाहन्छन् नै, उनीहरू आफ्नै भविष्य उपर पनि चिन्तित देखिन्छन् । योग्यको बदला अयोग्यलाई नियुक्ति दिइँदा भोलि फेरि लोडसेडिङ हुने त होइन भन्ने आशंकाले उनीहरूलाई बेचैन बनाएको छ ।

लोडसेडिङ अन्त्य तथा प्राधिकरणको वित्तीय सुधारको एकल जसको दाबी कुलमानको छैन । उता सरकारका प्रवक्ता तथा प्रम ओलीका निजी सचिवालय सम्बद्धहरूले सरकारको नीति र निर्देशनका कारण नै यो परिणाम आएको दाबी गर्दै आएका छन् । एकछिनलाई मानिलिऊँ, सरकारको नीति निर्देशनका कारण नै लोडसेडिङ अन्त्य भएको नै हो रे ! तर यदि कुरा यत्ति मात्र हुन्थ्यो भने यसै नीतिले नेपाल वायुसेवा निगमलाई किन उकास्न सकेन ? अझ, प्रम ओली स्वयंले आफ्ना जिल्लावासी विश्वासपात्र मदन खरेललाई कार्यकारी अध्यक्षमै नियुक्त गरेका थिए । तर, खरेलको नियुक्ति पछि आकाशमा उड्नुपर्ने विमान जमीनमै बस्न थाले। संस्थाको वित्तीय घाटा त अब क्याल्कुलेटरको स्क्रिनमा पनि नअटाउने गरी बढ्यो । सरकारको नागरिकसँगको सम्बन्धको मुख्य अवयव भनेकै नागरिक सेवा प्रदायक सार्वजनिक संस्था हुन् । सार्वजनिक संस्थाहरू जति सबल बन्छन् सरकार उत्ति नै प्रभावकारी हुन्छ। सही ऐन–नियम वा नीति–निर्देशनसँगै यी संस्थाहरू सबल बन्नका लागि तिनका नेतृत्वकर्तामा व्यावसायिक दक्षता र चारित्रिक निष्ठा उत्तिकै जरूरी हुन्छ । केदारभक्त माथेमा नेतृत्वको त्रिभुवन विश्वविद्यालयको तुलना तीर्थ खनियाँ नेतृत्वको त्यही संस्थासँग हुन सक्ला ? के कुलमानलाई उनका पूर्ववर्ती मुकेश काफ्लेको कोटिमा राख्नु न्यायोचित हुन्छ ?

कुलमान एउटा अमूक संस्थाका कार्यकारी प्रमुख भन्दा पनि नायक सदृश देदीप्यमान छन् अहिले, नेपाली समाजमा । उनको देवत्वकरण समेत भइरहेको देख्दछौं हामी । यसका कारणहरू छन् ।
पहिलो कारक त सञ्चारमाध्यम नै हो, ऊ सधंै नायकको खोजीमा हुन्छ । मिडिया नायकका व्यावसायिक उपलब्धि र व्यक्तिगत विवरणलाई पाठक, श्रोता वा दर्शकको खपतका निम्ति उद्यत रहन्छ । गगन थापा, रमेश खरेल, गोविन्द केसी, कुलमान घिसिङ मिडिया निम्ति ‘हिरो मटेरियल्स’ हुनसक्छन् । भोलि अर्कै नाम पनि देखिन सक्छन् ।


सरकार–नागरिक सम्बन्धको मुख्य अवयव भनेकै नागरिक सेवा प्रदायक सार्वजनिक संस्था हुन् । सार्वजनिक संस्थाहरू जति सबल बन्छन् सरकार उत्ति नै प्रभावकारी हुन्छ । सही ऐन नियम वा नीति–निर्देशनसँगै यी संस्थाहरू सबल बन्नका लागि तिनका नेतृत्वकर्तामा व्यावसायिक दक्षता र चारित्रिक निष्ठा उत्तिकै जरूरी हुन्छ ।


दोस्रो कारकचाहिं, समाजमा व्याप्त निराशा हो । पात्र फेरिंदा पनि प्रवृत्ति नफेरिने र ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने निराश मनोग्रन्थिका कारण थोरै मात्र सार्थक काम गर्ने जो कोही पात्र जनता माझ स्थापित हुनसक्छन् । कुलमानकै उदाहरण लिऊँ, उनले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए। उनले मंगलग्रह पुगेर लोडसेडिङ अन्त्यको बुटी ल्याएका होइनन् । आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए । उनी र अरूमा फरक के चाहिं भइदियो भने, अरूहरू कुरा गर्नमै रमाए, उनी खुरुखुरु काम मात्र गरिरहे । टीकाटिप्पणीदेखि निरपेक्ष रहँदै निष्काम कर्म गरिरहे । तर सार्वजनिक चासो रहेको संस्थामा रहेकै कारण उनी आमजनको जानकारीमा आए र सेलिब्रिटी बने ।


लोडसेडिङको अन्त्यले कुलमानप्रतिको जनअपेक्षालाई झनै बढाइदिएको छ । किनकि, लोडसेडिङको अन्त्य भनेको दुर्घटनामा छट्पटाइरहेको व्यक्तिलाई अस्पतालसम्म पु¥याउनु जस्तो मात्र हो । ऊ सुरक्षित ठाउँ त पुगेको छ, तर उसको सम्पूर्ण उपचार बाँकी छ । विद्युतको उच्च उत्पादनका कारण माग र आपूर्तिको सन्तुलन, ग्रामीण विद्युतीकरण, विद्युतीय सवारी र घरेलु उपकरणको उच्च प्रयोग अबका दिनका मुख्य चुनौती हुन् । सस्तो र सुलभ विद्युत् मार्फत नेपालीको व्यवहार (विहेभियर) परिवर्तन हुन सक्दछ । त्यसैले कुलमानले थालेको यस अभियानलाई एउटा तार्किक मोडसम्म पु¥याउनका निम्ति पनि उनको पुनः नियुक्तिको विकल्प अहिलेका निम्ति छैन, यो हामी शुभचिन्तक नेपाली जनताले बुझ्न जरुरी छ ।


गर्विलो क्षण

पंक्तिकारले कक्षा सातसम्म पढेको र कुलमानले एसएलसी दिएको अमर आदर्श मावि अहिले अस्तित्वमा छैन । संचालकहरूबीचको खिचातानी र कानूनी झमेलाका कारण हजारौं दियो प्रकाशित गरेको यो विद्यालय स्वयं भने आँधीबीचको टुकी झैं झ्याप्पै निभिसकेको छ । शैशव र किशोरवय विताएको विद्यालय अस्तित्वमा नरहेको तथ्यले तत्कालीन विद्यार्थीलाई पीडाबोध हुन्छ । तर, यसै विद्यालयका उत्पादन कुलमान घिसिङले समुच्च देशकै अन्धकार दूर गरेको सत्यले उत्ति नै आनन्दानुभूति गराउँदछ । अभिन्न मित्र कुलमान राष्ट्रका सबैभन्दा प्रिय र प्राञ्जल व्यक्तित्वमा स्थापित भएको देख्दा सहपाठी सबै गौरवको अनुभूति गरिरहेका छन् ।

हिमाल खबर

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment