अजय प्रधान
बाँपीझ्याला, दोलखा । विश्व पर्यटन दिवसको अवसरमा दोलखा जिल्ला गौरीशंकर संरक्षण क्षेत्र केन्द्रीय कार्यालय सिंगटीले होमस्टेका लागी आवश्यक सामग्री वितरण गरेको जानकारी प्राप्त भएको छ । आयोजनाले विगु गाउँपालिका वडा नम्बर –१ गोंगर लामावगरका १० घरलाई होमस्टे सञ्चालन गर्न आवश्यक पर्ने सामग्री वितरण गरेको छ ।
आन्तरिक पर्यटकहरुलाई खानपानमा समस्या नहोस् भन्ने उद्धेश्यका साथ होमस्टे सञ्चालनका लागी सामग्री वितरण गरिएको आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।
उक्त सामान एक कार्यक्रम आयोजना गरि आज वितरण गरिएपनि उनिहरुका लागी होमस्टे सञ्चालन सम्बन्धि तालिम समेत केहि समय पश्चात सञ्चालन गरिने आयोजनाले जनाएको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले यस अघि गौरीशंकर गाउँपालिका र कालिन्चोक गाउँपालिकामा पनि होमस्टे सञ्चालनका लागी आवश्यक सामग्री वितरण गरेको थियो ।