Search

भाषा बचाऔं

भाषा बचाऔं

सुरजवीर बज्राचार्य
अध्यक्ष, नेवाः पत्रकार राष्ट्रिय दवु
केन्द्रीय समिती

अरु विभिन्न भाषाको प्रभाव बढ्न थालेपछि अहिले नेपालको सम्पर्क भाषाको रुपमा देखिएको खस नेपाली भाषाको प्रवाहमा संकुचन त ल्याउने होइन, अरु भाषाको माझ कम प्राथमिकतामा पर्ने त होइन । यस्तै चासो ब्यक्त गर्ने भाषासेवीहरुको आवाज सुनिएको पनि लामो समय भइसक्यो । शुद्ध र प्रविधिमैत्री भाषाका रुपमा विकास गर्ने प्रयास निरन्तर हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउने यो आवाजकै बीचमा धेरै मधुरा आवाजहरु लामो समयदेखि गुञ्जिरहेको भने सुनिएको छैन ।


विभिन्न भाषाभाषीका यी आवाजहरु राज्यको कानसम्म पु¥याउने प्रयास आजको कुरा होइन । दशकौं देखि शताब्दीसम्मको अवधिदेखि यस्तै प्रयासहरु भइरहेका छन् । जसमा नेपालभाषा र नेपालभाषा आन्दोलन प्रमुख एवं नेतृत्व गरेको भाषा एवं आन्दोलनका रुपमा मनन हुँदै आएको छ । राज्यले संरक्षण एवं प्रयोगमा गम्भीर भएर नसोचिदिएको मात्र होइन, अझ भाषा दमकै नीति समेत लिएका कारण सम्पूर्ण मातृभाषीहरुको मन दुखेको छ ।


नेपालभाषामा लेखिएका पुस्तक जफत हुने समयदेखि जबरजस्ती एक भाषा एक संस्कृति नीति कडाइका साथ लाद्ने सम्मको कार्य राज्यबाटै भयो । त्यो विगत फेरिनु पर्छ भन्नेहरुलाई बल दिने कार्य पनि गरे विभिन्न भाषाभाषी समूहले विश्वासका साथ । आज देशमा परिवर्तन भएको छ तर के फेरिएको छ त भाषाभाषीका हकमा, भाषा संरक्षण, विस्तारका विषयमा !
अझ आज त यो प्रश्न सोध्नलाई कुनै अपरिचित राज्यसँग पनि प्रश्न गर्नुपर्ने अवस्था छैन । आफ्नै माटोमा हुर्केका ब्यक्तिहरु जनप्रतिनिधिका रुपमा नेतृत्वमा छन् ।


काठमाडौं महानगरपालिका र धनुषा जिविसमा स्थानीय भाषालाई दिएको मान्यता रोक्ने सर्वोच्चको आदेश दुःखद् इतिहासका रुपमा बिर्सनेतर्फ प्रेरित नभइ प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा हालसम्म पनि किन कार्यान्वयनमा छ । बल गरेर रोक्ने मनसाय पाल्नेहरु अझै किन बलियो छ ? यसको जवाफ खोज्दा फरक खालको अनुभव पनि आउने गर्दछ । बल गर्नेले बल गरुन्जेल हाम्रो विद्रोहको शक्ति पनि देखियो र समाजमा संरक्षणमा पनि उर्जा रहिरह्यो । आज बल गर्नेहरुको मनसाय यथावत् छ तर विद्रोह गर्नेहरु पनि शक्तिमा पुगेका कारण विद्रोह शिथिल भयो । जसकारण समाजमा संरक्षण र ब्यापकताको उजौ पनि शिथिल भएको छ । यो शिथिलता सबैभन्दा खतरनाक छ । हाम्रो भाषा लोप हुनुको कारक हामी पनि बन्दैछौं आजको समयमा ।


नेपालभाषा लगायतका विभिन्न भाषा संरक्षणको कुरा गरिरहँदा नेपालभाषाभित्र पनि विभिन्न स्थान विषेशमा बोलिने विशेषतायुक्त भाषाहरुप्रतिको चासो पनि उत्तिकै रहने गर्दछ । केही दुरी, फरक वस्ती, जीवनशैली फरक । संस्कृति, संस्कार, परम्परा फरक भए जस्तै भाषामा पनि त्यो परिवर्तन नेवार समुदायको विशेषता हो । काठमाडौं, ललितपुर, भक्तपुरबीच भाषिक भिन्नता हाल विशेषताकै रुपमा ब्याख्या हुने गर्दछ र आफ्नोपन, शैलीलाई प्राथमिकता दिनुपर्छ भन्ने बुझाइ धेरैको छ ।

विगतमा जस्तो एक स्थानका वासिन्दासँग अर्को स्थानका वासिन्दाले नेवार नै भइकन पनि नेपालभाषामा कुरा नगरी अन्य भाषाको सहारा लिनु पर्ने अवस्था परिवर्तन हुँदैछ । संचारमा समेत एउटा निश्चित संचारका लागि भाषा भन्ने मान्यता पुरानो भएको र सबै भाषाशैलीहरु अटाउन थालेका छन् । स्थानीय शैलीहरु संचार माध्यममार्फत प्रवाह हुन थालेपछिको अर्को सहज परिवर्तन हो यो ।

यही बीच नेपालभाषा भइकन पनि नेवार समुदायकै अन्य स्थानका वासिन्दाहरुको लागि सँधै बुझ्न चुनौती बनेको भाषा हो दोलखाली नेपाल भाषा । अड्कन समेत पनि काट्न नसकिने भाषा विस्तारमा चुनौती अझ बढ्छ । तर यो अवस्थामा चुनौती भन्दा पनि सोही भाषा जाती भित्र बाँच्नु पर्ने अनिवार्य रहन्छ । जसका लागि समाज, राज्यको जिम्मेवारी अवश्य छ । यही जिम्मेवारी सम्झाउन पनि सोही भाषा जातीको झकझक्याइ निरन्तर आवश्यक रहन्छ ।


यही जिम्मेवारी साथ बापिझ्याला निरन्तर छ । नयाँ आयामका रुपमा अनलाइनको शुरुवात अर्को उपलब्धि हो । यो उपलब्धि सम्पूर्ण दोलखाली नेवाः जातीको होस् र यसबाट संसारैभरी लाभ पुगोस् यही शुभकामना साथ कलम रोक्दैछु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!