०८ असाेज, बाँपीझ्याला, काठमाण्डौँ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्रमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो ।
सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिनुभयो । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो ।
नेपाल र इजरायलबिच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जान पाउनेछन् । सम्झौता भएपछि नेपाली श्रमिकले पनि इजरायली नागरिकसरहनै सेवासुविधा पाउनेछन् । यसका साथै नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने दूतावासले जनाएको छ ।