८ असोज, बाँपीझ्याला, काठमाडौं । नेपाल क्रिकेट संघले सुखद पहल गर्दै पहिलोपटक महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय सम्झौता) मा समेट्यो, तर यो आलोचनामुक्त बन्न सकेन ।
राष्ट्रिय टिमबाट खेलिरहेका महिला क्रिकेटरहरुसमेत कन्ट्रयाक्माट छुट्दा क्यानको पहल अलिनो बनेको छ । एउटै नाम भएका खेलाडीहरुलाई लिएर क्यान झुक्किएको हास्यास्पद तथ्यसमेत फेला परेको छ ।
वर्ष २०१९ मा नेपालको महिला टोलीले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । तीनवटै टी–२० फर्म्याटका थिए । यसमा नेपाली खेलाडीले विश्व कीर्तिमानसमेत बनाए । वर्षको सुरुमा थाइल्याण्ड टी–२० स्म्यास खेलेको नेपालको महिला क्रिकेट टिमले वर्षको अन्तिममा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो ।
२०२० को सुरुमै महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाकको सूची बनेको भए ती प्रतियोगिताहरु खेल्ने सबै खेलाडीहरु पर्थे होलान् । अघिल्लो वर्ष खेलेका आधारमा उनीहरु अगाडि थिए । २०१९ मै साग हुनुअघि नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक महिलाको फ्रेन्चाइज लिग क्रिकेट वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल पनि भएको थियो । एक हिसाबले सन् २०१९ मा नेपाली महिला क्रिकेट निकै चलायमान रह्यो ।
नेपाल क्रिकेट संघ क्यानको २०७६ माघ २७ गते बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीको पनि सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय लिएको थियो । यसबाट महिला क्रिकेटहरु खुशी भए । मासिक रुपमा तलब पाउने भएपछि खेलाडीको उत्साह बढ्नु स्वाभाविक थियो ।
त्यसबेला सेन्ट्रल कन्ट्रयाक्टको सूची तयार पार्न क्यान कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा ३ सदस्यीय समिति बनेको थियो । तर केही समयपछि नै कोरोना महामारीले खेलकुद ठप्प भयो । क्रिकेट पनि सुत्यो । मैदान बाहिरका कामहरु पनि तत्कालका लागि रोकिए ।
सात महिनापछि मंगलबार महिला सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक भएको छ । चितवनमा बसेको क्यान बोर्ड बैठकले १९ खेलाडीलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राख्दा निश्चय पनि यो नेपाली महिला क्रिकेटमा नयाँ सुरुवात थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १३ वर्षपछि महिला क्रिकेटको पनि पुरुषको जस्तै कन्ट्रयाक्ट भयो ।
तर क्यानले सार्वजनिक गरेको महिला खेलाडीको नाम, उनीहरुको ग्रेड, अनि मासिक रकमको खबरले भने महिला खेलाडी सन्तुष्ट हुन सकेनन् । विशेषगरी ग्रेडिङ सूची र मासिक पाउने रकम न्यून हुँदा उत्साह मरेको छ ।
क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रुविना क्षेत्री बेलबासे, उपकप्तान सीता मगरसहित पाँच खेलाडी ‘ए ग्रेड’मा छन् । ए ग्रेडका बाँकी खेलाडीमा पूर्वकप्तान नेरी थापा, इन्दु बर्मा र करुणा भण्डारी छन् ।
यस्तै ग्रेड बीमा ८ र ग्रेड सीमा ६ खेलाडी छन् । तर, राष्ट्रिय टिममा रहेका खेलाडी कन्ट्रयाक्टमा नपर्नु र राष्ट्रिय टिममा खेल्दै नखेलेका खेलाडी कन्ट्रयाक्टमा पर्नु आश्चर्यको विषय बनेको छ ।
एउटै नामले झुक्कियो क्यान
तीन खेलाडीको नाम एउटै हुँदा क्यान झुक्किएको देखिएको छ । नेपालमा कविता नाम गरेका तीन क्रिकेट खेलाडी छन् । कविता कुँवर, कविता गौतम र कविता जोशी । यीमध्ये दुई खेलाडी केन्द्रीय सम्झौतामा परेका छन् ।
रमाइलो त के छ भने कविता जोशी जसले अहिलेसम्म राष्ट्रिय टिममा खेलेकी छैनन् उनले ग्रेड बीमा स्थान पाइन् । जबकि यू १९ टिमको उपकप्तान अनि राष्ट्रिय टिमको नियमित सदस्य कविता कुँवर ग्रेड सीमा छिन् । डब्लुसीएल फ्रेन्चाइज लिगमा शानदार बलिङ गर्दै सर्वाधिक १० विकेट लिएकी खेलाडी कविता गौतम कुनै पनि ग्रेडिङ लिस्टमा छैनन् ।
यसमा स्रोतले बुझ्दा नाम एउटै भएकोले नै गल्ती भएको भेटिएको छ । एउटै नाम भएकोले कविता गौतम हुनुपर्नेमा कविता जोशीको नाम समावेश भएको हुनसक्ने भन्ने सूचना प्राप्त भएको छ ।
कविता जोशीले डब्लुसीएलमा ललितपुरबाट खेलेकी थिइन् । डब्लुसिएल च्याम्पियन टिम चितवन राइनोजकी बलर कविता गौतमले प्रतियोगितामा सर्वाधिक १० विकेट लिएकी थिइन् । तीन कवितामध्ये २०१९ को तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगिता साथै एक यू–१९ प्रतयोगिता समेत खेलेकी खेलाडी हुन् कविता कुँवर । तर उनी ग्रेड सीमा छन् । कविता जोशी र कविता गौतमले २०१९ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेनन् । तर घरेलु क्रिकेटमा कविता गौतमले राम्रो प्रदर्शन गरेकी थिइन् ।
प्रदर्शनको हिसाबले हेर्ने हो भने कविता कुँवर अगाडि देखिन्छिन् । तर ग्रेडिङमा भने कविता जोशीको नाम सबैभन्दा अगाडि देखिएपछि आश्चर्य भएको हो ।
अनलाईन खबर