राजस्थानले मंगलबार राति भएको खेलमा चेन्नईलाई १६ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २१६ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०० रन जोड्यो। जसका कारण खेलमा कुल ४१६ रन बन्यो।
राजस्थानका लागि कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन जोडे भने सन्जु सामसनले ३२ बलमा ९ छक्का र ४ चौकाको मद्दतमा ७४ रन बटुले।
अन्तिम ओभरमा राजस्थानले ३० रन जोडेको थियो। चेन्नईका लुङ्गी एनगिडीलाई राजस्थानका जोफ्रा आर्चरले लगातार दुई छक्का हिर्काए। त्यसपछिका दुई बलमा पनि आर्चरले छक्का प्रहार गरेका थिए। ती दुवै बल नो बल भए। फेरी अर्को बल वाइड भएको थियो। जसका कारण राजस्थानले पहिलो दुई बलमा २७ रन जोडेको थियो।
बलिङमा चेन्नईका साम कुरानले तीन विकेट लिए।
यता चेन्नईका लागि फाप डु प्लेसिसले ३७ बलमा ७२ रन जोडे। कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा तीन छक्कासहित नटआउट २९ जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए।
आइपिएलमा बुधबार राति कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।