बाँपीझ्याला, काठमाडौं । कोरोना महामारीसँगै बन्द गरिएको आन्तरिक हवाई उडान करिब ६ महिनापछि आजबाट खुला भएको छ । चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो । सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो ।
सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज पहिलो दिन देशैभर ३६ देखि ४० वटा उडान हुने भएको छ ।
स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ। अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ ।
विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।