०४ असोज, बाँपीझ्याला, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । केही समयअघि पेरिसडाँडामा बैठक सुरु भएको पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिनु भयो ।
यसअघि शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबारका लागि सारिएको थियो । बुधबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय भएको हो । तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको हो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो । तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे समेत छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनु भयो ।
यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गर्नुभएको थियो । यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आइतबारका लागि सारिएको थियो । सचिवालय बैठकले पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुर्नगठन, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्ने सचिवालयका एक सदस्यले जानकारी दिए । नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरेका छन् । झन्डै विभाजनको मुखबाट जोगिएर २६ भदौमा स्थायी समिति बैठक बसी पार्टीभित्रको विवाद टुंगो लगाइएको थियो ।
त्यसपछि सोही दिनलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गरी अगाडि बढ्ने नेकपाले जनाएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । त्यसयता एकता प्रक्रियाका विधि, पद्धति, विधान कार्यान्वयन, सरकारको कामको समीक्षा, एमसीसी सम्झौतालगायत विषयमा नेकपा रुमल्लिएको थियो । यस्तै, उपाध्यक्ष वामदेव गौतमको सांसद बन्ने चाहना, शीर्ष नेताहरूको वरीयता, दुई अध्यक्षको कार्यविभाजन र कार्याधिकार, पोलिटब्युरो गठन, एक व्यक्ति एक मुख्य जिम्मेवारीलगायत विवादमा नेकपाले गोलचक्कर लगाइरहेको थियो ।
सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका गरी दर्जनौं बैठकमा यही पुरानै विषयमा छलफल घुमिरहेका थिए । पार्टी एकताका बेला अध्यक्षद्वयको कार्याधिकार बाँडफाँटबारे भएका सहमति कार्यान्वयनलाई लिएर विवाद हुँदा शक्ति संघर्ष चर्किंदै आएको थियो। एकतापूर्व दुई अध्यक्षले अढाईरअढाई वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति गरेका थियो । उक्त सम्झौता सार्वजनिक भएपछि २०७६ मंसिर ४ मा त्यसलाई प्रतिस्थापन गर्न ओलीले ५ वर्ष नै सरकार र दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी सचिवालय बैठकले निर्णय गरेको थियो ।