Search

रानीपोखरीमा खानेपानी मन्त्रालयको सहयोगमा पानी भरियो, फेरि फर्कियो पुरानो सुन्दरता

रानीपोखरीमा खानेपानी मन्त्रालयको सहयोगमा पानी भरियो, फेरि फर्कियो पुरानो सुन्दरता

बाँपीझ्याला, काठमाण्डौं । संघीय राजधानी साँस्कृतीक शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । वि.स २०७२ सालको भूकम्पले क्षति पु¥याएपछी रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । साथ साथै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ ।


खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ । रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए ।


पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो । मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए । भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि अनुरोध आए खानेपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्ने जानकारी दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!