Search

नेपालमा रेल आज आइपुग्दै !

नेपालमा रेल आज आइपुग्दै !

बाँपीझ्याला, जनकपुर । नेपालको इतिहासमा दोस्रो रेल्वेको रुपमा सञ्चालन भएको जयनगर (बिहार) देखि जनकपुरसम्म पहिलोपटक ब्रोडगेज लाइन नियमित हुन लागेको छ । न्यारोगेजमा सञ्चालन भइरहेको रेलसेवा बन्द भएको छ वर्षपछि शुक्रबार पहिलोपटक ब्रोडगेज लाइनमा यात्रुवाहक रेल जयनगरबाट जनकपुर आउन थालेको हो ।

नेपाली भूमिमा पहिलो पटक विसं १९८४ मा रेल चलेको थियो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।

जयनगर जनकपुर बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो ।

सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो । ६ वर्ष अघिसम्म धनुषाको दक्षिणी भेकलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो । सुरुमा जयनगरदेखि जनकपुर हुँदै बिजलपुरासम्म सञ्चालन हुने यो रेल जनकपुर र बिजलपुरा खण्डमा दुईवटा पुल भत्केपछि २०५८ देखि जयनगरदेखि जनकपुरसम्म सीमित हुन पुगेको थियो । २०७१ माघ महिनामा सरकारले पूर्ण रुपमा रेलसेवा ठप्प गरी ब्रोडगेज निर्माण प्रक्रिया सुरु गरेको थियो ।


भारतीय सरकारको आर्थिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज निर्माण जारी छ । तीमध्ये जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको लाइन निर्माण पूरा भएको छ ।

नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो । उक्त दुवै रेल निर्माण भएर बिहीबार जयनगर आइसकेको छ भने आज (शुक्रबार) जनकपुरसम्म ल्याउने तयारी गरिएको जानकारी प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!