चितवन । लकडाउनले सबैभन्दा बढी थलिएको क्षेत्रमध्ये पर्ने पर्यटन क्षेत्र भोलि (बिहीबार) देखि खुल्ने भएको छ ।
सरकारले होटेल, रेस्टुरा खोल्न दिने निर्णयसँगै सौराहाका पर्यटन व्यवसायीले होटेल खोल्ने तयारी गरेका हुन् । होटेल र पर्यटनका अन्य गतिविधि सञ्चालन गरिए पनि पर्यटकको बुकिङ र चहलपहल बढ्ने छाँट भने देखिँदैन । जसका कारण उत्साही नभए पनि एक किसिमको आशा जागेको पर्यटन व्यवसायीहरु बताउँछन् । सौराहामा होटेल, रेस्टुरेन्ट, जिप सफारी, हात्ती सफारी, डुंगा सफारी, जंगलवाकलगायत गतिविधि हुने गर्छन् ।
क्षेत्रीय होटेल संघ, सौराहाका अध्यक्ष दीपक भट्टराईले सरकारले होटेल खोल्ने निर्णयको स्वागत र प्रशंसा भए पनि आफूहरू उत्साही नभएको बताए । ‘‘होटेल खुलेर मात्र भएन, पर्यटक आउनुपर्यो, पर्यटक हुनुपर्यो,’’ उनले भने । होटेल खुलेपछि सकारात्मक सन्देश गए पनि पर्यटकको संख्या भने अहिले नै बढ्न नसक्ने उनको भनाइ छ ।
पर्यटन अन्य क्षेत्रसँग अन्तरसम्बन्धित व्यवसाय हो । यससँग यातायात तथा हवाई क्षेत्रको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध हुन्छ । संघका पूर्वअध्यक्ष सुमन घिमिरे सिजन सुरु भएसँगै हवाई र यातायात क्षेत्रसमेत सञ्चालन भएपछि पर्यटनमा क्रमश: सुधार हुने बताउँछन् ।
‘‘अहिले हामी सेवा दिने अवस्थामा त छौं, उनले भने, कात्तिक नलागेसम्म पर्यटकीय गतिविधि भने बढ्दैन ।’’ उनका अनुसार बिहीबारबाट सौराहाका होटेलहरू क्रमश: खुल्दै जानेछन् ।
विगतका वर्षहरूमा यो समयमा अनलाइन बुकिङ र पर्यटकको चाप बढे पनि लकडाउनका कारण बाह्य पर्यटक नहुँदा पर्यटक क्षेत्र तत्काल उकासिने अवस्था छैन । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा सबै पर्यटकीय गतिविधि तत्काल सञ्चालन नभए पनि खान र बस्न समस्या नहुने बताउँछन् ।
‘‘हामी खाना-बस्न आउने पर्यटकका लागि त तयारीमै छौं,’’ उनले भने, ‘‘यो व्यवसाय यातायात र हवाई सेवाजस्तो होइन । गति लिन समय लाग्छ ।’’
उनका अनुसार रेस्टुरेन्टका कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी तालिम दिएर व्यवसाय सञ्चालन गरिने उनको भनाइ छ । तर रेस्टुरेन्ट र बारमा हुने अन्य मनोरञ्नात्मक क्रियाकलाप भने हाललाई नगरिने उनले बताए ।
सौराहा जंगल सफारीमा आधारित पर्यटन व्यवसाय भएकोले यहाँका व्यवसायीले सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्ज पनि खुलाउनुपर्ने माग गरेका छन् । सौराहाको पर्यटन हात्ती सफारी र अन्य जंगल सफारीमा आधारित पर्यटन भए पनि हालसम्म निकुञ्जले कहिले प्रवेश गर्न दिने भन्ने विषयमा टुंगो लगाएको छैन ।
युनाइटेड हात्ती सफारी सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारी व्यवसाय खुल्न दिएर मात्रै व्यवसायले गति दिन नसक्ने तर्क राख्छन् । ‘‘होटेल, रेस्टुरा खुल्न नदिएर सौराहाको पर्यटन चल्दैन,’’ उनले भने, ‘सबैभन्दा पहिले निकुञ्ज खुल्नपर्छ ।’’
यहाँ अधिकांश पर्यटक हात्ती सफारी गर्न आउने हुनाले निकुञ्ज र सामुदायिक वन यथाशक्य खोलिनुपर्ने व्यवसायीको माग छ ।
होटेल खुलेसँगै निकुञ्जले जंगल सफारी सञ्चालन गर्ने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल सौराहाका होटेल खुलेसँगै निकुञ्जमा सफारी र सामुदायिक वन चाँडै खोलिने बताउँछन् ।
‘‘अहिले निकुञ्जभित्रका बाटाहरू मर्मत र डुंगा सफारी ठेक्का प्रक्रिया पूरा गर्दै छौं,’’ उनले भने, ‘‘निकुञ्जको आफ्नै आन्तरिक सुरक्षा मापदण्डको विषयमा पनि छलफल भइरहेको छ ।’’ उनका अनुसार निकुञ्जको आन्तरिक सुरक्षा मापदण्ड र पर्यटकको स्वास्थ्य सुरक्षा मापदण्ड कडाइसाथ लागु गरिने भएकाले थप केही दिन लाग्नेछ ।
पर्यटन व्यवसायीसँग चाँडै छलफल गरेर निकुञ्ज प्रवेश गर्न अनुमित दिइने बरालले बताए । सौराहामा मात्र १३० वटा पर्यटकीय होटेल र ७० भन्दा रेस्टुरेन्ट एन्ड बार छन् ।
चितवनको दोस्रो गन्तव्य मेघौली तथा पटिहानी क्षेत्र दुई दर्जनभन्दा बढी होटेल सञ्चालनमा छन् ।