दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा साँस्कृतिक नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवाः समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, संस्कृती र रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवाः मातृभाषा प्रचलनमा रहेको छ । दोलखाको सांस्कृतीक विकासको क्रममा मल्लकालदेखि प्रचलित रहेको भजन किर्तनले आफ्नै इतिहास बोकेको पाउँछौं । मानव जिवनमा भजन किर्तन एक नभई नहुने अङ्गको रुपमा स्थापित भईसक्यो । यो विना जीवन अधुरो रहन्छ । तसर्थ मानव समूदायले जुनसुके धर्म प्रति आस्थावान रहेपनी भजन किर्तन भन्दा टाढा रहन सक्दैन ।
भजन किर्तन भनेको मानव समूदायले मुख्य रुपमा सत, चित्त र आनन्द प्राप्त गर्नु नै यस्को मुख्य ध्येय हो । हुनत संसारमा भक्तजनहरु चार प्रकारका हुन्छन् । यो संसारमा हरेक मानिसको आ–आफ्नै खालका ईच्छा, चाहना र आकांक्षा अनुसार भजन किर्तन गर्न मन पराउँछन् र गर्छन् । जे जस्तो भएपनी अन्तमा पार पाउन् सकिन्दैन । चाहे मानिसले भजन मण्डलमा होस, चाहे जात्रा मेला पर्वमा होस, चाहे घरमा होस, चाहे सामूहिक होस, चाहे एक्कल होस हरेकले प्रत्यक्ष वा परोपक्ष भजन किर्तन गरेको हुन्छ । यो उनीहरुको आ–आफ्नो मौलिक धर्म हो । यसरी चार प्रकारका भक्तजनहरु आ–आफ्नो परम्परा अनुसार भक्त भजनियाहरु भगवानसंग कामना ईच्छा पुरा गर्दै धर्म मान्ने भजन गर्ने गरिन्छ । अर्थाथी भक्त, ज्ञानको भक्त, जिज्ञासु भक्त र आर्त भक्त यसै प्रसंगमा उल्लेख गर्न खोजिएको छ ।
अर्थार्थी भक्त : भगवान संग पुकारका रुपमा आर्थिक, धन सम्पती, अर्थ, मान, पद, प्रतिष्ठा र ईज्जत आदीको चाहना गरी धर्म मान्ने भजन गर्ने गरीन्छ ।
ज्ञानको भक्त : यसमा शाब्दीक र अनुभावनात्मक ज्ञान प्राप्तीका लागि भजन गर्ने धर्म मान्ने गरिन्छ ।
जिज्ञासु भक्त : हरेक कुराको बारेमा जान्ने ईच्छा राख्ने गर्ने गरेको पाईन्छ ।
आर्त भक्त : यसमा भक्तजनहरु भगवान संग आत्मा समर्पण गरी भगवान ज्ञान प्राप्तीका लागि धर्म मान्ने भजन किर्तण गरी सत चित्त आनन्द पाउनको लागि चाहना ईच्छा, राखी गर्ने गरिन्छ ।
यसरी विशेष भजनको शाब्दीक अर्थ हुन्छ कसैको गुणगान गाएर आफूमा केही फाईदा लिनू मै भजन भन्ने गरिन्छ । त्यसैले आफ्नो स्वार्थ पूर्तीका लागि पनि भजन गरेका हुन्छन् ।
दोलखामा भजन किर्तन :
भजन र भर्जन किर्तन गर्नु भनेको फरक कुरा हो । भजन भनेको गुणगान गाउँनु हो । भजन किर्तन भनेको भगवान देवी देवताको बारेमा गुणगान सहित आफ्नो मन, बचन र आत्मालाई चढाई भगवानको आराधाना सहित भजन कृर्तन गर्नु हो ।
दोलखा एक प्राचिन, धार्मीक, साँस्कृतीक, ऐतिहासिक, पुरातात्वीक तथा पर्यटकिय थलो हो । जहाँ आफ्नै छुट्टै खालको विशेषता र पहिचान रहेको छ । अर्को हिसावले हेर्ने हो भने दोलखा मन्दिरै मन्दिरको शहर भने पनी हो ।
तसर्थ यस दोलखा साँस्कृतीक नगरमा बाहै महिना मासिक रुपमा भजन किर्तन गर्ने गरिन्छ । यसको शुरुवात कहिले देखि भयो भन्ने बारेमा यकिन यही हो भन्ने त पाईएको छैन । तरपनी यस सम्वन्धी ताडपत्र, शिलापत्र र बिभिन्न अभिलेखमा उल्लेख भए अनुसार मल्लकालिन समयदेखि यस्को विकास भएको पाईन्छ । किनभने पुरानो भजनको कितावहरुमा मल्लकालिन राजाहरुको गुणगान गरेको पाईएको छ । पछि पछि आएर मल्ल लगाएत अन्य व्यक्तिहरुको पनी गितहरुमा अभिव्यक्त गरेको पाईएको छ । यसै गरी त्यती बेलाको दोलखाको भौगोलिक र प्राकृतिक स्थानहरुको बारेमा पनी बर्णन गरेको पाईन्छ ।
दोलखामा त्यतीबेला जनघनत्वको चाप धेरै भएको कारणले ऐतिहासिक यस दोलखा नगर भित्र पाँच ठाँउमा भजन किर्तन गर्ने गरिन्थ्यौ ।
गणेश टोल भजन मण्डल, भीमेश्वर भजन मण्डल, महागिता पाटी भजन मण्डल, डोकलुङा मच्छिन्द्रनाथको भजन मण्डल र दुङ्गलको नाटेश्वर भजन मण्डल रहेको थियो । तर हाल आएर बिभिन्न कारणबाट यहाँको जनघनत्व कम हुर्दै गएपछी मुस्किलले एक दुई ठाँउमा भजन किर्तन गर्दै आएको छ । त्यसमा पनि कहिले भुकम्प, कहिले नाकाबन्दी, कहिले कोरोना भाईरसको संक्रमणको कारणले जन जिवन अस्त व्यस्त बन्दै गएर हाल रोकिएको अवस्था छ । यस्तै गरी अर्को समस्या भनेको स्थानिय रुपमा बाध्य बाधन जान्ने व्यक्ति, व्यक्तित्वहरु दिन प्रतिदिन बृद्ध हुर्दै गएका छन र कति त स्वर्गिय भईसकेका छन् । यसरी दोलखाको भजन किर्तन दिन प्रतिदिन बन्द हुने क्रम बढी रहेको छ ।
दोलखामा भजन किर्तन गर्ने परम्परा अनुसार दुई खाले भजन किर्तन गर्ने गरिन्छ । एउटा पुरानो कितावको भजन जुन नेवाः भाषामा लेखिएको छ । जसलाई नेवाः भाषामा देशी म्ये भनिन्छ भने दोश्रोमा नेपाली भाषा र तेस्रो हिन्दी भाषामा उल्लेख गरको पाईन्छ । यसै गरी दोलखाली नेवाः भाषामा कमै मात्रमा भजन किर्तन लेखिएको पाईएको छ । जसलाई टफा भजन किर्तन भनिन्छ । पुरानो देशी म्ये र टफामा दुई खाले भजन किर्तन हुन्छ । एउटा भगवान तथा देवी देवताको आरधानामा भजन किर्तन गरिन्छ भने अर्को निर्गुन भजन किर्तन गाउने गरेको पाईन्छ ।
पुरानो देशी म्येको भजन किर्तन गर्नको लागि फरक फरक ताल हुन्छ । जस्तै ः खरजति ताल, चौताल, प्रताल र लँताल आदी यस्मा रागहरु अनाश्री, केदार, विबास, माल्लव, बष्यारी आदी रागहरु हुन्छन् । यस पुस्तकमा बिभिन्न महिनामा गाईने गितहरु उल्लेखि गरिएको पाईन्छ भने कुनै चाही बाह्मासे भजन किर्तन हुन्छ । जस्तै गोला, मंगल र नारायजो आदी । अव बिभिन्न महिनामा गाईने भजन किर्तनमा बैशाखमा “सोरथ” हिलेजात्रामा अर्के हुन्छ । दशैतिर मालाश्री, माघ फागुण तिर बसन्त यसरी महिना र ऋतुको आधारमा भजन किर्तन गाईने गरिन्छ ।
यसरी यी बिभिन्न गिज, भजनहरुलाई सरसर्ती हेर्दा यहाँको विशेषता र गरिमा निक्कैनै उल्लेखनिय रहेको पाउँछौं । अव अनन्तकालमा गएर शुन्य अवस्थामा पनि रहने स्थिती नआउला भन्न सकिन्न ।
यसै गरी ऐतिहासिक शहरमा गाईने भजन, भजन किर्तनलाई जिवित राख्नको लागि हामी दोलखाली नेवार जातीले आ–आफ्नो ठाउँबाट आर्थिक, नैतिक र भौतिक सहयोगको गर्नुका साथै हामी सवैले आ–आफ्नो दायित्व र जिम्मेवारीको बोध गर्ने बेला आएको छ ।
यसै गरी स्थानिय सरकारले यस्को निरन्तरता र संरक्षणको लागि पहल गर्नु पर्छ । यस सम्वन्धी नयाँ नयाँ जनशक्ति उत्पादको लागि स्थानिय वासिन्दाहरुलाई आवश्यक सिप, दक्षता हस्तातरणको लागि तालिम, सचेतना कार्यक्रमहरु संचालन गर्नु पर्छ ।
अहिले भीमेश्वर नगरपालीका वडा नं. २ गणेश टोल भजन मण्डल घर, माहागिता पाटी भजन मडल घर तल्लोटोल, मच्छिन्द्रनाथको भजन मण्डल घर डोकलुङा, भीमेश्वर मन्दिरको भजन मण्डल र नाटेश्वर भजन मण्डल घर दुङ्गलमा भजन गर्ने गरिएको भएतापनी हाल गणेश टोल भजन मण्डल घर र मच्छिन्द्रनाथको भजन मण्डल घर डोकलुङामा भजन, भजन किर्तन बन्द भएको छ । माहागिता पाटी भजन मडल घर तल्लोटोल, र नाटेश्वर भजन मण्डल घर दुङ्गलमा चौमास भजन गर्ने गरिन्छ भने भीमेश्वर भजन मण्डलमा बाहै महिना भजन, भजन किर्तन गर्ने गरिन्छ ।
स्थानिय सरकारले भौतीक पूर्वाधारमा जसरी बजेट विनियोजन गरेको पाईन्छ त्यसै गरी यहाँको भाषा, संस्कृती, स्थानिय जात्रापर्व, चाडपर्व र परम्पराको संरक्षण, जर्गेना गरी निरन्तरताको लागि पहिचान गरी आवश्यक बजेट विनियोजन गरी अगाडी बढ्नु पर्ने आजको दोलखाको आवश्यकता रहेको छ ।
यदी दोलखा भित्र रहेको हरेक मौसम र महिना अनुसारको चाडपर्व, जात्रामात्रा, धर्म संस्कृती, परम्परा र छुट्टै पहिचान बोकेको दोलखाको नेवाः भाषाको संरक्षण गर्नुको लागि हामी दोलखावासी र स्थानिय सरकारले वास्ता गरेनौ भने यो सवै ईतिहास बन्न केहि बेर लाग्दैन, तसर्थ यही लेखबाट यस कार्यको लागि स्थानिय सरकारको ध्यान आकर्षण समेत गराउन चाहन्छु ।
अन्तमा, दोलखा शहरको ऐतिहासिक सम्पदादेखि लिएर भाषा, संस्कृती, परम्परा र चाडपर्वले ऐतिहासिक साँस्कृतिक नगर दोलखालाई मात्र नभएर भीमेश्वर नगर अनी सिङ्गो दोलखा जिल्लाको पहिचान राख्न सफल भएको छ ।
यस सम्वन्धी सम्वन्धीत निकायले चासो राख्नु पर्ने आवश्यकता रहेको छ । यसै गरी दोलखाको यस अभियानमा लागि परि हिडिरहेका व्यक्ती, व्यक्तित्वहरुलाई कदर गर्नु पनी अर्को आवश्यकता रहेको छ । जव कुनै पनी कुरामा योगदान दिने व्यक्ति व्यक्तित्वलाई हामी मान, मर्यादा र सम्मान गर्न जान्दैनौ, समग्र रुपमा त्यहाँको ऐतिहासिक मान्यता र मुल्यलाई हामीले हेला गरेको सम्झनु पर्छ । यस अभियानमा हामी सवैले एक आपसमा मिलेर दोलखाको नेवाः जातिको पहिचानलाई सधै जिवित राख्नको लागि पहल गरौ, दायित्व निर्वाह गदै जिम्मेवारी बोध गरौ भन्ने कामना गर्दछु ।