Search

दोलखाको “खरी प्याखन” र यसको निरन्तरता

दोलखाको “खरी प्याखन” र यसको निरन्तरता

दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवाः मातृभाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढ दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।
दोलखाको सांस्कृतीक विकासको क्रममा मल्लकाल देखि प्रचलित रहेको खरिप्याखनको आफ्नै इतिहास रहेको पाउंछौं । सास्त्रीय संगितको आधारमा नृत्य गर्नु पर्ने यो नृत्यको आफ्नै मौलिक कथा छ । त्रेतायुगमा राजा धुूुवसिन्धुले अयोध्यामा राज्य गर्दथे उनैको कथामा आधारीत यो नृत्य अनेको रसयूक्त सास्त्रीय संगीतमा गरिन्छ । दुःखान्त सुखान्तको बिच बीररस, प्रेमरसको सयोगान्त रहेको कथामा आधारीत यो नृत्य छ सात दिन सम्म देखाउनु पर्ने लामो कथाको आफ्नै मौलिकता रहेको छ ।

२०७७ गुल्नामा निकालिएको खरीप्याखन नाच


खरीप्याखन झट्ट नेपालीमा उचारण गर्दा “खरी नाच” भन्ने बुझिन्छ । तर यसको अर्थ भने सायद अर्के हुनसक्छ तैपनि केही बुढापाकाहरुको भनाई अनुरुप नृत्यको निम्ति आब्हान गरिने देवता नाटेश्वरलाई आराधना गरेर पूजापाठ गरी विशेष खट बनाएर निकाल्ने नित्य भएकोले खरीप्याखन भनीएको भन्ने मान्यता रहेको छ । कसैकसैले गृदङ्ग बजाएर गीतको तालमा हावभाव गरिने भएकोले खरीप्याखन भनिएको हो भन्ने पनि गर्दछन् । खरी प्याखन शुद्ध दोलखा प्रचलनमा रहेको नेपाल भाषामा देखिन्छ । यस नृत्यमा विशेष गित गाउने भजनिया टोली अलग्ग बस्छन् भने नाच्नेहरु गितको तालमा संगीतको आधारमा हावभाव गरी नाचेर आफ्नो कला प्रस्तुत गर्दछन् । खरीप्याखन यसको महत्व के त भन्दा खेरी आजभोली साधारण दर्शकहरुले यस नाचको बारेमा बुझेर महत्व माथि प्रकाश पार्न निकै कठिन छ । धार्मीक परम्परा अनुरुप बिभिन्न प्रक्रिया अपनाएर मञ्चन गरिने यस नृत्यको आफ्नै महत्व छ । यसले पुरानो दोलखाको नेपाल भाषा, संस्कृती, हावभाव, ईतिहास, भेषभूषामा आधारीत भई दोलखाको पुरानो परम्परालाई दर्शाएको पाईन्छ । यस्तै नाटक ललितपुरको देवी नाच काठमाण्डौ र भक्तपुरमा नभएका हैनन् तर प्रसङ्ग फरक छ कथावस्तु धेरै फरक छ । यसमा आफ्नै पनको शैली ढाल्नुमा पहिलाका अग्रजहरु चुकेका छैनन् भन्नु नै उपयुक्त होला ।

नेपाल मण्डल दाफा महोत्सव २०७३ मा सहभागी भजन मण्डली र दोलखावासी


खरीप्याखन पहिला पहिला हिलेजात्रा ५–७ दिन लगातार देखाइने धार्मिक कथामा आधारित विभिन्न ताल रागमा शास्त्रीय नीति अनुरुप हावभाव गरिने एउटा गिती नाटक हो । कथावस्तुमा भगवानको भक्त भएपछि कसरी संकटबाट पार हुन्छ भन्ने कथा वस्तुलाई आधार बनाएर देखाएको नाटकको रुपमा देखिन्छ । हाल दोलखामा केही सिमित कलाकारहरुद्वारा १–२ दिन मात्र छोटो रूपमा प्रस्तुत गरिन्छ । यस बारेमा भन्नुपर्दा यसको बारेमा छोटकरीमा परिचय दिन पनी उपयुक्र होला ।
देवि देवताले भरिपूर्ण पौराणिक शहर अयोध्याका राजा र ध्र्रुवसिन्धु आफ्ना दुई रानी मनोरमा र लिलावती सहित सुखसयलमा देवीदेवताको अर्चना गरेर बसेका हुन्छन् । एकदिन राजालाई शिकार खेल्न मन लाग्छ राजा मन्त्री सहित वनमा शिकार खेल्न जान्छन् । शिकार खेल्दा खेल्दै ध्र्रुवसिन्धुुको जम्काभेट बाघ संग हुन्छ दुवैको कुस्तीमा राजा र बाघ दुवैको मृत्यु हुन्छ । यो कुरा मन्त्रीले कटुवालद्वारा महारानीहरुलाई बताउदछ । महारानीहरुले अनेक विरह गर्दछन्् दुवै विरहमा डुब्छन् । देशमा राजा नभएपछि कसलाई राजा बनाउने भन्ने बारेमा खैलाबैला मच्चिन्छ । जेठी रानीका बुवा भिरसेन कान्छी रानीका बुवा युद्धजित दुवै पुग्छन् । दुवैले आ–आफ्नो नातिलाई राजा बनाउने कुरामा जोड गर्छन । एकले अर्कोले अड्को थाप्छन् । जेठो रानीको छोरा सुर्दशन उमेरले पनि जेठो र कान्छी रानीको छोरा शत्रुजित उमेरले पनी कान्छो थियो । युद्धजितले आफ्नो नाति शत्रुर जितलाई राजा बनाउनको निम्ति राजा ध्रुवसिन्धुले जेठा सुदर्शन राजकाज गर्न योग्य नभएकोले कान्छा राजकुमार शत्रुजितलाई राजा बनाउनु पर्छ भनेका हुन्छन् । यस्तो भने पछि बीरसेनले उक्त कुरा मान्दैनन् । फलस्वरुप युद्धजितले आफू दुई युद्ध गर्ने जो जित्छ उसकै नाति राजा हुन्छ भनेर युद्धको आब्हान गर्दछन् । दुवैको घनघोर युक्त हुन्छ । युद्धमा राजा विरसेन युद्धजितद्वारा मारिन्छ । अब राजा ईन्द्रजीतले आफ्ना नातिलाई बनाउँछ । राजतिलक वरिष्ठ गुरुद्वारा शत्रुजितलाई लगाइ दिन्छ । जेठा राजकुमार सुदर्शन तथा आमा मनोरम्वा एक जना मन्त्री वल्लभ सहित दरबारमा बस्न नसकेर वियोगका साथ जंगलतिर भाग्छन् । जंगलमा उनीहरु भारद्वाज ऋषिकहाँ शरन लिन गएका हुन्छन् । यता युद्धजितले आफ्नो नाति शत्रुजितलाई तिम्रो दाजु भागेका छन शत्रु भन्नेकुरा डर लाग्दो हुन्छ कुनै दिन फर्केर दुःख दिनसक्छ तसर्थ त्यसलाई बाँकी राख्नु हुँदैन भन्ने कुरा सिकाउँछ ।

नेपाल मण्डल दाफा महोत्सव २०७३ मा सहभागी

शत्रुजीतले हरेक ठाउँमा सुदर्शनको खोजीमा आफ्नो मान्छे पठाउँछ तर कतै भेटिँदैनन् । यता सुर्दशनलाई भारद्धाजले विभिन्न कार्यको ज्ञान साथै सम्पूर्ण शास्त्रमा निपुण गराउँदछ अन्तमा देवी भगवती सरस्वती अष्ट मात्रीका गणेश, कुमार लगायतका देवताहरूको स्तुती गराई उनीहरुबाट विभिन्न हतियार सहित बरदान सुदर्शनलाई दिलाउँछ । त्यस्तै समय काशिका राजा सुवाहुका छोरी शशिकलासँग सुदर्शनको प्रेम बस्दछ । बुबाआमाले शसिकलालाई सुदर्शनसँग तिमी नजाउ हामीले पृथ्वीलोक भरिका बहादुर बहादुर राजकुमारलाई बोलाउँला तिम्रो ईच्छाले एकजनालाई छान्नु भनेर सारा देशका राजकुमारहरुलाई बोलाउँछन् । सारा देशका राजकुमार जम्मा भएका ठाउँमा शत्रुजित र युद्धजित पनी आएका हुन्छन् । एउटा कुनामा सुर्दशन पनि बसेका हुन्छन् । राजकुमारी शसिकलाले कसैको मुखै नहेरी सुदर्शनलाई बरमाला पहिराईदिन्छन् । दुबैको बिबाह हुन्छ । यस कुरामा युद्धजितलाई रिस उठ्छ बिवाहको भोज खान राजा सुवाहुले अनुरोध गर्दा अनेक निहु झिकेर सुदर्शनसित निहु खोज्छ । फलस्वरुप लडाई मच्चिन्छ । लडाइँमा राजा युद्धजित लगायतका शत्रुजित पनि मारिन्छ । तत्पश्चात सुर्दशनलाई आफ्नो पैतृक राज्य प्राप्त हुन्छ । राजकुमारी शसिकला आमा मनोरम्वा र आफूलाई मद्धत गर्ने मन्त्री बल्लभ सहित आफ्नो राज्यमा फर्कन्छन् । राजतिलक हुन्छ, सबै प्रजा खुसी हुन्छन् । त्यसपछि सुदर्शनले धेरै कालसम्म प्रजालाई सुखी राखेर राज्य गर्दछ ।


यस कथालाई आधार मानेर बनाइएको “खरीप्याखन” मा विभिन्न तान्त्रिक गतिविधि पनि देखिन्छ । भनिन्छ पहिला पहिला यस नृत्य निकाल्न पूर्व तान्त्रिक शक्तिद्वारा झ्याली ताल आफै बजेपछि करुण देवता कराई सकेपछि भजनियाहरुले उक्त झ्याली ताल हातमा लिएर भजन गर्दथे । पहिला पहिला नृत्यमा ३५–४० जना कलाकार हुन्थे । जस्तै ख्याली, दिकपाल, देवीहरुको विशेष पाठ हुन्थ्यौ । राक्षस बाघको नृत्य प्रर्दशन हुने गर्दथ्यौ । लडाँईका भजन, विरहका भजन, विछोडका भजन, चुड्का भजन वीरतापुर्ण अभिलाषाका भजन, प्रेम स्नेहका भजन, दुई राजाका सम्वादका भजन, विभिन्न राक, केदार, सिगार, मालदव, गौरी, बसन्त, बठ्यारी, धनाश्रीमा गाइन्छ । यसै गरी देवि देवताका स्तुती पनि गरिन्छ ।
यसरी प्रर्दशन हुने यस नृत्य दोलखामा परापूर्वकालदेखि नै प्रदर्शन गर्ने गर्दर्थे । कति सालमा कसले कसले कसरी सिकायो भन्ने प्रमाण थाहा नपाएपनी हाल प्रर्दशन हुने गरेको “खरीप्याखन” वि.सं. २०००–२००३ सालताका स्वर्गीय भवानी शंकर श्रेष्ठ, स्वर्गिय डिठ्ठा पूर्णलाल, स्वर्गिय खरिदान मानकृष्ण सिंह श्रेष्ठ, स्वर्गिय थरी नारायण बहादुर श्रेष्ठ, स्वर्गिय भैरवमान जोशी, स्वर्गिय भीमबहादुर श्रेष्ठको सक्रियतामा पुनः प्रर्दशन हुन सफल हुनु भएको थियो । त्यसपछि यस नृत्य सिकाउने परम्परा बन्द नै भयो भने पनि हुन्छ । धेरै जसो कलाकारहरु स्वर्गिय भईसकेका छन् । यस किसिमको नृत्य दोलखामा तल्लो टोल र माथिल्लो टोल गरी दुई ठाउँमा प्रर्दशन हुने गर्दथ्यौ । दुवै टोलका कलाकारहरु फरक फरक थिए । कथावस्तुमा केही फरक बनाई प्रस्तुत गर्ने गरिन्थ्यौ । तल्लोटोलमा यस नृत्य बन्द नै भई सकेको छ ।
यसरी दोलखाको लोप हुन लागेको संस्कृती, परम्पराहरु मध्ये एक “खरीप्याखन” भएकोले यसलाई निरन्तरता दिनु पर्छ भनी स्वर्गिय प्रमोद श्रेष्ठ, स्वर्गिय श्याम कृष्ण श्रेष्ठको सक्रियतामा तत्कालिन् अभयपुर र्सास्कृतीक परिवारले खरीप्याखन नाच संचालन गरिएको थियो । त्यतीवेला स्वर्गिय कृष्ण बहादुर श्रेष्ठको विशेष सक्रियता सहयोगमा यस संस्थाको माध्यमबाट तयार भएका कलाकारहरुमा पर्शुराम श्रेष्ठ, टंक प्रसाद श्रेष्ठ, कृष्ण नारायण श्रेष्ठ पुर्ण बहादुर श्रेष्ठ र सुरेश श्रेष्ठ लगाएतका पर्दछन् । यसै गरी तिलिञ्चो परिवार, द्वाल्खा गुठी, कालिञ्चोक युवा क्लव र द रेयुकाई द्वाल्खा शाखाको सक्रियतामा समय समयमा माथिल्लो टोलबाट नाच निकाल्ने गरेको थियो ।

नेपाल मण्डल दाफा महोत्सव २०७३ मा सहभागी भजन मण्डली


त्यसै गरी बनारसी सहयोगी हातहरुको सक्रियता, दोलखावासीहरुको सहयोग र सहभागीतामा नाट्यश्वर भजन खलकको व्यानरमा २०७३ साल, नेपाल सम्वत् ११३६ मा नेपाल मण्डल टेलिभिजन र ललितपुर मलको संयृुक्त आयोजनामा उपत्यकामा आयोजना गरिएको “नेपाल मण्डल दाफा महोत्सव २०७३” मा सहभागी हुँदा दोलखाबाट भजन र खरीप्याखन प्रस्तुत गरिएको थियो । जसमा सयौको संख्यामा दोलखावासीहरुको सहभागीता रहेको थियो ।
यसरी दोलखा भित्र मनाईने जात्रा पर्व र संस्कृती मध्ये आफ्नै ऐतिहासिक महत्व बोकेको “खरी प्याखन” दिन प्रतिदिन लोप हुदै गएको छ । नेवारी संस्कृती, परम्परा र सम्पदा नेपालको सम्पती भएकोले यसको संरक्षण र जर्गेना गर्ने जिम्मेवारी र दायित्व नेपाल सरकार अन्तर्गत स्थानिय सरकारको रहेको छ । तसर्थ यसको संरक्षण र जर्गेनाको लागि समयमै सम्वन्धीत पक्षको ध्यानकार्षणको लागि समेत अनुरोध समेत गर्दछौं ।

नेपाल मण्डल दाफा महोत्सव २०७३ मा सहभागी दोलखाली चेलिबेटी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!