Search

गौरवशाली भीमेश्वर नगर

गौरवशाली भीमेश्वर नगर
राजेन्द्र मानन्धर

गौरीशंकर हिमालको चुचुरोलाई आधार मानेर नेपालको समय निर्धारण हुन्छ । यही चुचुरोलाई स्पर्श गर्दै हुने सूर्योदयबाट भीमेश्वर नगरपालिकामा उज्यालो छरिन्छ । भीमेश्वरलाई आफ्नो काखमा राखेर न्यानो माया खन्याएको गौरीशंकर हिमालको दिव्यता र सुन्दरतासँग यस नगरको प्रत्यक्ष सम्बन्ध छ । रोल्वालिङ हिमश्रृङ्खलाका अनौठा र अद्भुत दृश्यहरू यहींबाट नजीक पाउन सकिन्छ ।

कालिञ्चोक भगवतीलाई शिरमा राखेर बसेको दोलखा जिल्लाको सदरमूकाम भीमेश्वर नगरपालिका नेपालको इतिहास, वर्तमान र भविष्यलाई समेत प्रभावित पार्न सक्ने अनुपम नगरपालिका हो । आफ्नो मूर्तिबाट पसिना निकालेर देशको दशा र दिशाको सूचना दिने साक्षात देवता भीमेश्वर महादेवको प्रसिद्ध मन्दिर यहि छ । देशको हातमा पहिलो पटक सिक्का राखिदिने ऐतिहासिक राज्य अभयपुर दोलखा पनि यही हो । देशलाई जलविद्युत्, व्यापार र समृद्धिको नयाँ युगमा डो¥याउन तम्तयार तामाकोसी यहींबाट आफ्नै ताल अनी सुरमा सुसेली हालिरहेको छ ।

भ्यूटाउर, चरिकोट
फोटो : फोटोग्राफि प्रह्लाद

राजधानी काठमाडौंबाट १३३ किलोमिटर पूर्वतर्फ अरनिको राजमार्ग हुँदै खाडीचौर आइपुगेपछि पुष्पलाल मार्ग समातेर यस नगरमा आइपुगिन्छ । सुन्दर गाउँ र खेतबारीको माझबाट नागबेली पर्दै उकालिएको सडकका घुम्तीहरू पार गरेपछि भेटिने लाकुरीडाँडाको आहालडाँडा यस नगरको प्रवेशबिन्दु हो । जहाँ पर्यटकीय सूचना केन्द्र सहितको कलात्मक दोलखा प्रवेशद्धार निर्माण सम्पन्न हुने चरणमा छ । यहाँबाट अघि बढेपछि दक्षिण एशियाको सबैभन्दा ठूलो म्याग्नेसाइट खानी खरिढुङ्गासँग साक्षात्कार हुन्छ । खरिढुङ्गाको पृष्ठभूमिमा रोल्वालिङ र लाङटाङ हिमश्रृङ्खलाको मनोरम दृश्य देखिन्छ । २७०० मिटर उँचाइको खरिढुङ्गा क्षेत्रमा शिशिर यामभरि हिमपात हुन्छ । हिउँ निख्रिए पश्चात् जंगलभरि फुलेको लालीगुराँसले मनै रंगीन बनाउँछ ।

खरिढुङ्गादेखि उत्तरतिर लामोसाँघु–जिरी सडकबाट अघि बढ्दै जाँदा अन्तर्राष्ट्रिय चलचित्र नगरी प्रवेशमार्ग भेटिन्छ । यहाँबाट ६.५ किलोमिटर उकालिदा अन्तर्राष्ट्रिय चलचित्र नगरी क्षेत्रको मैदानमाथि पाइला पर्छ । नगरको मुख्यालयतिर नजिकै जा“दा हात्तीछहरा र चर्णावतीको झर्नाले स्वागत गरिरहेको हुन्छ । गोपीखोला, तामाकोसी र चरणावतीको संगम त्रिवेणीधाम काशीको शिर मानिन्छ, जहाँ श्राद्ध गरे काशी नै गएर गरे सरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

१३२.५ वर्ग किलोमिटर क्षेत्रभित्र नौ वटा वडामा विभाजित भीमेश्वर नगरपालिका न्यूनतम ८४० मिटरको उष्णता देखि उच्चतम ३५४९ मिटरको गणेश थुम्की उच्च लेकसम्म समेटिएको छ । जैविक विविधतायुक्त मौसमी स्पर्श यस नगरको वातावरणीय सम्पत्ति हो । हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोट भीमेश्वर नगरको मुख्यालय हो । यसको उत्तरतिर कालिञ्चोकको पानीढलोबाट शुरु भएको धार्मिक महत्वको सुन्द्रावती खोला दोल्तीसम्मका खेतबारी सिंचन गर्दै तामाकोसीमा विलीन हुन्छ । तामाकोसी असला माछाको भण्डार हो भने दोल्तीको दोभान नागदह लहलह धान झुल्ने उर्वर फाँट हो । तामाकोसी नदीमा ¥याफ्टिङको मजा लिन सकिन्छ ।

ईतिहास
ऐतिहासिक मञ्जुश्री डाँडामा अवस्थित मूर्तिको शिलालेखका आधारमा मञ्जुश्रीको नेपाल आगमनको पहिलो इतिहास दोलखा शहरबाट कोरिन्छ । सातौं शताब्दीमा तिब्बत र भारतबीचको व्यापार तामाकोसी किनारैकिनार हुन्थ्यो । तामाकोसीसँग जोडिएको प्राचीन दोलखा राज्य लिच्छवि कालमा कुथेर अर्थात कर उठाउने अड्डा थियो । प्राकृतिक सौन्दर्य, जातीय विविधता, कर्मठ जीवनशैली तथा समृद्ध धार्मिक–सांस्कृतिक सम्पदाको संगमस्थल यो नगरपालिका आज शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय, सञ्चार सुविधा लगायत विकासका प्रत्येक आयाममा तीव्र गतिका साथ अघि बढ्दै गएको छ ।

पुनः निर्माण पछिको ऐतिहासिक शहर दोलखा
फोटो : फोटोग्राफि प्रह्लाद

२०५३ सालमा भीमेश्वर मन्दिरको नामबाट नगरपालिका घोषणा गरिएको दोलखा नगर लिच्छवी, मल्ल र शाहकालीन सम्पदा एवम् कलाकौशलको कोशेढुंगा पनि हो । कलात्मक शिल्पकलाले जीवन्त ढुंगा र ईंटाका प्राचीन सम्पदाहरू यस नगरका गहना हुन् । ढुंगाका मूर्तिहरू, मन्दिरहरू र घरहरूले भरिएको यस नगरलाई ढुंगाको शहर पनि भन्ने गरिन्छ ।

सम्पदा शहर
प्राचीन इतिहासमा अभयपुरको नामबाट परिचित दोलखा बजारस्थित भीमेश्वर मन्दिर परिसरमा ठड्याइएको भीमकाय ढुंगाको स्तम्भ कहिले कहाँबाट ल्याइयो र कसरी ठड्याइयो भन्ने प्रश्नको उत्तर आजसम्म कसैसँग छैन । कुनै बेला सम्पन्न, सशक्त र स्वतन्त्र राज्य दोलखाका राजा जयइन्द्रसिंह देवले सोह्रौं शताब्दीमा टक अर्थात् मोहर प्रचलनमा ल्याएका थिए । यो नेपालको इतिहासमै पहिलो पटक चलनचल्तीमा ल्याइएको चाँदीको सिक्का हो । त्यसवेलाको टक प्रकाशन गर्ने टक्सार घर दोलखा बजारमा आज पनि अवलोकन गर्न सकिन्छ । यस प्राचीन शहरमा महापुरुषहरूले यस्ता अनेकौं मौलिक ऐतिहासिक कार्य गरेका थिए भन्ने ईतिहास भेटिन्छ ।

त्रिपुरा सुन्दरी मन्दिर (देक्वार)
फोटो : फोटोग्राफि प्रह्लाद

देवदेवी, जात्रा र पर्वको नगर
आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने देवताका रूपमा प्रसिद्ध भीमेश्वरको उत्पत्तिको रोचक प्रसंग छ । परापूर्वकालमा एक जना भरियाले खाना पकाउन चूल्होमा प्रयोग गरेका तीनवटा ढुंगामध्ये एउटा ढुंगातिरको भात काँचै रहेको देखेर रीसले पन्यूँले हिर्काउँदा ढुंगाबाट रगत र दूध बग्न थालेपछि देवता रहेछ भनी भीमेश्वरका रूपमा मन्दिर बनाएर पुज्न थालिएको किंवदन्ती छ । अहिले उनै देवता त्यही शिलाबाट पसिना निकालेर देशलाई ठूला घटनाको पूर्वसूचना दिने गर्छन् । विभिन्न चाडपर्वमा जात्रा लागिरहने भीमेश्वर, काली मन्दिर, त्रिपुरासुन्दरी, चम्पुजा पार्क, टक्सार घर हुँदै दोलखा शहर एक फन्को लगाउँदा ऐतिहासिक कलाकृति, वास्तुकला, प्राचीन नेवारी बस्तीको रहनसहन, संस्कार, संस्कृति र नेपाल (नेवारी) भाषासँग जीवन्त साक्षात्कार हुन्छ ।

चरिकोटको वैभव
समुद्री सतहबाट १९७० मिटर उँचाइमा रहेको पहाडी बजार चरिकोट मनमोहक छ । भनिन्छ, धेरै पहिले चरिघ्याङमा खेतीपातीमा क्षति पु¥याउने असिनापानी रोक्न सक्ने शक्तिशाली लामा बस्दथे । लामो तपमा लीन भएका वेला उनको दाह्रीमा चराले गुँड लगाएको थियो, त्यसैले यस ठाउँलाई चरिकोट भन्न थालियो । चरिघ्याङको गुम्बा अतीतमा बौद्ध अध्ययन केन्द्र थियो । गुम्बासँगै भीमसेनको पूर्णकदको मूर्ति छ । यस क्षेत्रका तामाङ जातिले उक्त मूर्तिको पूजा गर्छन् ।

चरिकोट बजार, साथमा अकासमा खेली रहेको चिल
फोटो : फोटोग्राफि प्रह्लाद

उच्च पहाडी प्राकृतिक सौन्दर्य र आधुनिक सुविधाको संगम चरिकोटलाई धेरैले भारतको दार्जीलिङको प्रतिरूप ठान्छन् । यहाँ शनिवार बिहान स्थानीय उत्पादनहरूको हाटबजार लाग्छ । यहाँ निर्मित कोटिहोम स्थललाई एकपल्ट पुग्नैपर्ने ठाउँको रूपमा लिइन्छ । नगरको शिरमा रहेको कालिञ्चोक भगवती मन्दिर परिसरमा १२ वर्षसम्म पानी, दूध र मिश्री मात्रै सेवन गरेर तपस्या गरी सिद्धि प्राप्त गरेका कालिञ्चोक बाबाले निर्माण गरेको कोटिहोमस्थल स्वदेश र विदेशमा विख्यात छ । त्यहाँ उनको समाधिस्थल पनि छ । नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वःको शालिक रहेको शंखधर चोक र त्यहाँ रहेको टुटेपानी नेवारी बस्तीमा जात्राहरू चलिरहेका हुन्छन् ।

चरिकोट र दोलखा बजार लगायत भीमेश्वर नगरपालिकाभरि नै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले परापूर्वकालदेखि आ–आफ्ना चाडपर्व उत्साहका साथ मनाउने गरिआएका छन् । यहाँ वर्षभरि नै परम्परागत मेला, पर्व र उत्सवहरू चलिरहन्छन् । रातो मच्छिन्द्रनाथको रथजात्रा, भैरवकुमारी जात्रा, खड्गजात्रा,, सहस्रधारा जात्रा चर्चित जात्राहरु मध्ये पर्दछ । यसै गरी बुद्ध पुर्णिमा, कृष्णाष्टमी, गुल्ला पर्व, गाईजात्रा, मारुणी नाच, बालन नाच, खरीप्याखन, ईन्द्रजात्रा, धन्यपुर्णीमा चुचेरोटी पुर्णे, माघेसंक्रान्ती, बालाचतूदशी, बसन्तपञ्चमी, होली, भीम एकादशी पर्व र चैत्रदशै यहाँ धुमधाले मनाउने गरेको पाईन्छ ।

मौसमको जादू
न जाडोमा अति जाडो न गर्मीमा अति गर्मी । यो नगरको प्रमुख विशेषता नै लोभलाग्दो हावापानी । बिहानी मिर्मिरेमा पूर्वतिर उभिएका गौरीशंकर हिमालको कापहरुबाट छिरेको सूर्यकिरणले नयाँ दिन लिएर आउँछ । साँझ पश्चिमी क्षितिजमा सय थुम्काको मनमोहक शैलुङ डाँडा पछाडि टिलपिलाउँदै गरेको घाम रातलाई निम्त्याएर विदा हुन्छ । पूर्वतिर अविरल बग्ने कञ्चन तामाकोसीले जलविद्युत् र जलयात्राको सम्भावना पर्खेर बसेको छ । कालिञ्चोकसम्म फैलिएको जंगल र चरिकोट शहरसँगैको दर्फेको प्राकृतिक जंगलभित्र हुर्किरहेका लोपोन्मुख जंगली जनावरहरूले विशेष आकर्षण थपेका छन् । सालक कुद्दै गरेको, खरायो उफ्रिंदै गरेको, मिर्ग चर्दै गरेको, चराचुरुङ्गी गुँडहरूमा पस्दै निस्कँदै गरेको दृश्यहरू देखिने दर्फे जंगलमा नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित खुला प्राकृतिक चिडियाखाना बनाउने कार्य अघि बढाएको छ ।

गौरीशंकर हिमाल
फोटो : फोटोग्राफि प्रह्लाद

जातजातिको उद्गम
सुस्पा क्षेमावतीको राङराङथलीबाट विशिष्ट संस्कार, संस्कृति, भेषभूषा, भाषा, सीप र कलाकौशलले भरिएको थामी जातिको उत्पत्ति भएको हो । उत्पत्तिको रोचक र ऐतिहासिक कथाले भरिएको यही ठाउँमा थामी संग्रहालय निर्माणाधीन छ । संग्रहालयबाट नगरको वडा नं ६ मा रहेको भ्यू–टावर तथा निर्माणाधिन विश्वशन्ति बुद्धपार्कसम्म पदमार्ग बनेको छ । विवाहको आफ्नै रीति, धातुका गरगहना, बाँसका सामग्री बनाउने सीप र मारुनी नाच थामी जातिका मौलिक विशेषता हुन् । थामी जातिको मन्त्र र गुरुअप्पाबाट उत्पन्न शक्तिलाई अलौकिक रहस्यका रूपमा हेरिन्छ । मौलिक पोषाकमा ढ्याङ्ग्रोको तालमा अघिपछि गर्दै उफ्रदै मन्त्रवलमा आफ्नो शरीरमा देवता चढाउन सक्ने गुरुअप्पाका साथमा महिलाहरु नाच्दै तिलकपोखरीको ओढार पुग्ने रोचक परम्परा छ । उक्त ओढार थामी जातिको उत्पत्तिको सेरोफेरोमा सुरक्षित वसोवासस्थल थियो ।

दोलखा बजारका नेवार जातिको मौलिक भाषा, संस्कृति र जनजीवनले ऐतिहासिक राज्य संरचनाको झलक दिन्छ । भीमेश्वर नगरभरि छरिएर बसेका तामाङको विशेष मौलिक संस्कारहरुले निरन्तरता पाइनै रहेको छ । उच्च भेगीय क्षेत्रमा चौरी पालनमा रमाइरहेका शेर्पा जातिको रहनशहन, भेषभुषा र भाषा यस नगरको सम्पत्ति हो । साथै, अन्य जातिको सांस्कृतिक पक्षले नगरलाई समृद्ध इतिहास बोकेको स्थलको रूपमा चित्रण गर्छ ।

थामी जातीको उद्मस्थल राङराङथली र निर्माणधित क्रममा थामी संग्रालय
फोटो : फोटोग्राफि प्रह्लाद

उर्वर भूमिमा मिहिनेत
सिद्ध तपस्वी कालिञ्चोक बाबाले कोटिहोम स्थलमा वरपरका जंगलबाट खोजेर ल्याई विभिन्न जातका जडिबुटी लगाएका छन् । सुस्पाक्षमावती देखि कालिञ्चोकसम्म फैलिएको जंगल बहुमूल्य च्याउ र जडिबुटीको खानी मानिन्छ । उत्पादनमा अब्बल जिलुलाई अनाजको भण्डार भनिन्छ । मकैबारीले तरकारीमा नाम कमाएको छ । मकैबारीको रायोको साग र खरिढुङ्गाको आलुले राजधानी काठमाडौंमा अन्यत्रको भन्दा उच्च मूल्य पाउँछ । यो नगर फलफूलको राजा मानिने किवीको पकेट क्षेत्र मानिन्छ । मिहिनेती श्रमजीवी मानिसहरूले नगरलाई समृद्धितर्फ डो¥याइरहेका छन् ।

किरातकालीन क्षेत्रमा मयूर पार्क
प्रसिद्ध इतिहासकार बाबुराम आचार्यले लेख्नुभएको छ, ‘दोलखानिर किराँतीछाप भन्ने खण्डहरमा पछिल्लो लिच्छवी कालका कुटिल लिपिको शिलालेख छ । सातौं शताब्दीमा तिब्बतबाट हिमालय छिचोली कुती झर्ने बाटो खुलेपछि तराई र भारतसम्म वाणिज्य मार्ग खुलेको पाइन्छ । १४ औं शताब्दीमा समसुद्दीनको आक्रमणबाट पुरानो दोलखाको बस्ती किराँतीछाप ध्वस्त भयो ।’ आज यो ऐतिहासिक भूमिमा उभिएर मयूरहरू चरिरहेको देख्न सकिन्छ । एक रूखबाट पखेटा फिजाउँदै अर्को रूखमा मयूरहरू उडिरहेका हुन्छन् । मयूरको संरक्षण र अवलोकनका लागि भीमेश्वर नगरपालिकाले यहाँ मयूरपार्क निर्माण शुरु गरेको छ ।

मुख्य देवता र रहस्य
भीमेश्वरको मूर्तिले बेलाबेला पसिना निकाल्छ । त्रिपुरासुन्दरी मन्दिरको एउटा गोप्य कोठामा पुजारी बाहेक अरूको प्रवेश भए अनर्थ हुन्छ । महांकाल मन्दिरमा स्त्री जाति प्रवेश गर्दैनन् । धार्मिक तीर्थस्थल सुन्द्रावती खोलाको प्राकृतिक कलात्मक ढुङ्गाको प्वाल भित्रभित्रैबाट झर्ना बग्छ । बूढाभीमसेन मन्दिर आस्थाको पुञ्ज मानिन्छ । जिलुको वृन्दावन धार्मिक र सुन्दर प्राकृतिक स्थल हो । कोटिहोम स्थलमा जर्मन र जापानीहरूले आएर हवन गरेका छन् । कालिञ्चोक दर्शन गर्न आउने धार्मिक यात्रु गणेशथुम्कीमा पूजापाठ गरेर अघि बढ्छन् ।

बृहत् योजना
भीमेश्वर नगरपालिकाको वडा नं. ९ लाकुरीडाँडा स्थित डाङ्डुङ्गे डाँडामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरीको विस्तृत खाका कोर्दै गरेको यस नगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण क्षेत्र चलचित्र छायांकनका लागि प्रसिद्ध छन् । उक्त क्षेत्रको सीमाबाट फैलिएको नेपालकै ठूलो र भव्य पशुपालन क्षेत्र काउफर्म सञ्चालनको अन्तिम तयारी छ । वडा नं. २ र ४ मा तामाकोसी तेस्रो जलविद्युत् आयोजना र जलाशयुक्त ताल निर्माण गरिने चर्चा छ । चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो राजमार्ग नगरपालिकाको सीमा तामाकोसी किनार हुँदै निर्माण गर्न सर्भे भैरहेको छ । विमानस्थल, प्याराग्लाइडिङ र तामाकोसीमा ¥याफ्टिङको सम्भावना खोजिरहेको नगरले व्यवस्थित खेल मैदान र कभर्ड हल निर्माणलाई जोड दिएको छ । आफ्नो क्षमता र सम्भावनाको अधिकतम उपयोग गर्दै भीमेश्वर नगरपालिका विकास र समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!