Search

नेपालमा पहिला चाँदीको मोहर (सिक्का) चलाउने राजा दोलखाका जय ईन्द्रसिह देव

नेपालमा पहिला चाँदीको मोहर (सिक्का) चलाउने राजा दोलखाका जय ईन्द्रसिह देव
भी.न.पा. –२, दोलखा पाखलतीमा दोलखा राज्यका तत्कालिन राजा जय ईन्द्रसिह देवको प्रतीमा

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्ला नेपाल अधिराज्य भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट संग नेपालको सम्बन्ध कायम भएको र भोट मार्फत तिब्बतसंग पनि नेपालको सम्बन्ध कायम भएको पाईन्छ । नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ । मल्लकालमा डेढ दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।

वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले नेपाल अधिकाराज्य कै पहिलो चाँदीको सिक्का निकालिएको थियो । जुन चाँदीको सिक्का हिन्दू राज्यको सबभन्दा सुन्दर चाँदीको सिक्का रहेको थियो भन्ने मान्यता रहेको छ । यसरी आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए जुन तथ्यलाई सावित गर्न त्यसताकाका ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि दोलखामा विद्यमान रहेको छन् ।

तसर्थ ऐतिहासिक, धार्मिक एवं पर्यटकिय धरोहर बोकेको दोलखाको विशेषतात आफ्नै ठाउँमा छदैछ । यसको साथै नेपालकै सबभन्दा पहिलो चाँदीको मोहर र राजा जयईन्द्रसिंह देवको बारेमा प्रस्तुत लेखमा ऐतिहासिक विश्लेषण गर्न खोजिएको छ ।

कुनै पनि राष्ट्रको आर्थिक विनिमयको एकाइलाई मुद्राले परिभाषित एवम् विनियोजित गर्दछ । मुद्रण कलाको एक पक्ष भएको हुुनाले यसलाई “मुद्रा” भनियो । अर्थतन्त्रको शक्तिमानको एक मापन मुद्राले आर्थिक स्थितिको सङ्केत दिने हुनाले पनि यसलाई मुद्रा भन्ने अर्थ लगाएको देखिन्छ । मुद्रा केवल विनिमय या कुनै साटासाट गर्ने माध्यममा मात्र सीमित नरही यसले कुनै पनि राष्ट्रको राष्ट्रियता, भाषा संस्कृति, कला, अर्थ, धर्म एवम् प्रविधिको समेत जानकारी दिनेहुनाले इतिहासको अङ्ग सरह मानिन्छ । इतिहास निर्माण गर्ने सहायक अङ्गको काम मुद्रा वा सिक्काले गर्ने हुनाले यो तथ्य हो ।

जनविश्वास र मान्यतामा मध्यकालीन नेपालका प्रसिद्ध राजा महेन्द्रमल्ल मानिन्छ । वंशावली एवम् लोक परम्परामा कान्तिपुरलाई भक्तपुरबाट टुक्र्याएर स्वतन्त्र राज्य थाप्ने यक्षमल्लका माहिला छोरा रत्नमल्लको वंशज महेन्द्रमल्ललाई महीन्द्रमल्ल पनि लेखिएको भेटिन्छ । नरेन्द्रमल्ल पछि कान्तिपुरका राजा भएका महेन्द्रमल्लले डानिया रहिटको समग्रमा रहेको नेपाली वंशावली अनुसार राजहंसको जोडी र शिकारी बाजको उपहार लिई दिल्लीको सम्राटको दरवारका गएका थिए । त्यस उपहार देखि सम्राट औधि प्रशन्न भएर ६ मासा चाँदीको तौल भएको चाँदीको मुद्रा आपनो स्वतन्त्र टक छापी यसै बेलादेखी नेपालको मद्रा नाममा ‘मोहर’ जोडे । किम्बदन्तीमा महेन्द्रमल्ली पहिलो चाँदीको मोहर निकाल्ने राजा भनिएको भएतापनि यसमा ईतिहासकारहरु बीच मतभेद भएको पाउछौ । यस मतबाट केही इतिहासकारहरु सन्देह प्रकट गर्दछ । जस्तै प्रोफेसर सिल्भा लेभीको मतमा महेन्द्रमल्लको समय (ने.सं ६७०–६९०) इस्वी सन् १५५० मा कावुल भागिसकेका थिए ।

शेर खाका उत्तराधिकारीका विषयमा विवादले गर्दा राज्य नाजुक अवस्था रहेको अवसर छोपी सन् १५५५ मा फेरी दिल्लीमाथि अधिकार गरेर ६ महिनाको राज्यभोग पछि हुमायुँको आकस्मिक मुत्यु हुन्छ । त्यसपछि नाबालक ‘अकवर’ राजा भएको हुनाले शासनको वास्तविक अधिकार १५६० सम्म उनकी आमा र धाइको हातमा थियो । त्यस पछिको सातवर्ष अकवर काफिरहरुको दमनमा व्यस्त थिए । यस्तो परिस्थितिमा महेन्द्रमल्ल दिल्ली जानु युक्तसङ्गत देखिदैन ।

अर्का विद्धान कर्कपेट्रिक यस विषयलाई अर्कै दृष्टिकोणले हेर्दछन् । उनका अनुसार महेन्द्रमल्लले भोटबाट चाँदिको सिल झिकाई त्यसको बदला मुद्रा निष्कासन र पैठारीमा त्यतिवेला नेपाललाई प्रतिवर्ष एकलाख नाफा हुन्थ्यो ।

उपर्युक्त ऐतिहासिक कथनमा नेपालको अस्तित्वप्रति विदेशी इतिहासकारहरु नेपाली वंशावलीकै आधारमा प्रश्नचिन्ह तेस्र्याउछन् ? कारण, किम्बदन्ती र लोकोक्ति । कतै लोककथा र किम्बदन्तीहरु विदेशीहरुलाई खुसी तुल्याउने हेतुले मात्र रचेको त होईन ? प्रतिप्रश्न आवश्यक छ । अन्यथा कर्कपेट्रिकले लेखे अनुसार महेन्द्रमल्मीमा ल्हासा दरवारको पनि चित्र छ, भन्ने अनर्गल भ्रामक मान्यतालाई किन सच्याईदैन ? साथै यस मुद्राको अर्को पाटोमा “घोडाको” आकृत छ भन्ने फजुल तथ्यलाई मोलिक किम्बदन्तीमा कि आत्मसात गर्न खोज्छन् लोकगाथा विद्हरु ? अव प्रत्यक्ष प्रमाणद्धारा इतिहास साधना गर्ने क्रममा महेन्द्रमल्लीको चाँदीको मोहरको अग्रभागमा वज्रयान बौद्ध मार्गको प्रतीक ध्वजाअलङकृत ठाडो वज्रलाई एक वृत आकृत्तिमाथि “श्रीश्री” जय महेन्द्र मल्ल देव” अक्षर गोलो पाराले मध्यकालीन प्रचलित नेपाल लिपिमा लिपिव छ । दुई वृब्ले आवृत्ति दिएर मुद्राको बाह्य पटिक्रममा ज्वालाबलीको परिक्रमण छ ।

त्यस्तै पृष्ठ भागमा अलङ्कृत त्रिशुल, मध्यकालीक शैवमतको प्रतिविम्बलाई आवृत्त दिएर उही लिपिमा “श्री मतुकाष्ठमण्ड पस्याधिपति अभिलेखको बाह्य परिक्रमणमा ज्वालावलीको प्रतिकात्मक चिन्हले सजाईएको छ । यही रोप्य मुद्रालाई नेपालको सर्वप्राचिन मोहरको दर्जा लोक परम्पराले दिएको छ । तर, उपर्युक्त लोकमान्यताको इतिहासलाई मौद्रिक परम्पराले नै जाच्ने क्रममा एमजीरोड्स के ग्याम्ब्रिच, र सी. माल्डितारोले सङ्कलन गरेको नेपाली मुद्राको प्रकाशनमा महेन्द्रमल्ल भन्दा १२ वर्ष पहिले दोलखाका अधिपति राजा जय ईन्द्रसिंह देवले नेपालमा सबभन्दा पहिला चाँदीको मोहर छापी चलनमा ल्याएको देखिन्छ । जुन तथ्यको साक्षि ईतिहास रहेको छ ।

काठमाडौं उपत्यकामा चाँदीको मोहर प्रथम पल्ट चलनमा ल्याउने राजा कान्तिपुरका महेन्द्रमल्ल भएकाले मोहरलाई महेन्द्रमल्ली पनि भनियो र वंशावलीले उल्लेख गरे अनुसार महेन्द्र मल्लले भारतका कुनै मुसलमान सम्राटकहाँ शिकारी बाज र राजहंस उपहार चढाएकोले सम्राट खुशी भई महेन्द्र मल्ललाई चाँदीको टक छाप्न अनुमति दिए भन्ने धारणा लिइयो । उपत्यकाका राजाहरुले मात्र चाँदीको मोहर प्रचलनमा ल्याएका भन्ने ठानिनाले र त्यसमा महेन्द्र मल्ल जेठो हुनाले उपर्युक्त भ्रमपूर्ण धारणा कायम रहिरह्यो ।

उपत्यकाका राजाहरु बाहेक अन्यत्रका राजाले पनि चाँदीको मोहर आफ्ना नाममा छापी निकालेका थिए भन्ने कुराको प्रकाश सर्व प्रथम स्व.ईतिहास शिरोमणी बाबुराम आचार्यले गर्नुभयो – दोलखाली राजा इन्द्रंिसंह देवले चाँदीको टक निश्काषन गरेका थिए भनेर । तर इन्द्रसिंह देव महेन्द्र मल्ल पछिका मात्र शासक भएको ठानी इतिहास शिरोमणिज्यूले महेन्द्रमल्लको अनुकरण गरी चाँदीको मोहर चलाई इन्द्रसिह देव दोलखाको ठाकुर हुन पुगेको अनुमान गर्नु भयो । तर उहाँपछि मोहनप्रसाद खनाल, धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ जस्ता इतिहास विद्हरुको अनुसन्धानले प्रष्ट पा¥यो कि महेन्द्र मल्लभन्दा इन्द्रसिंह देव अगाडि शासक भएका थिए । त्यसै हुनाले नेपालमा चाँदीको मोहर प्रचलनमा ल्याउने पहिलो शासक कान्तिपुरका राजा महेन्द्र मल्ल नभएर दोलखाका राजा इन्द्रसिंह देव थिए । यसै गरी महिन्द्र मल्ल भन्दा पहिला दोलखाका अधिपती राजा जयईन्द्रसिंह देवले नेपालमै पहिला चाँदीको मोहर चलाएको भन्ने प्रमाणीत छाउनी म्युजियममा भएको मोहरले थप प्रमाणीत गरिएको छ भने यसको साथै ईतिहासकार धन वज्रचार्य र टेकबहादुर श्रेष्ठको दोलखाको ऐतिहासिक रुपरेखामा उल्लेखित ने सं ६५४, इस्वी १५३४ मा देखापर्दछ ।

यसै गरी इन्द्रसिंह देव सं. १५९१ देखि १६०५ वि.सं.सम्म दोलखामा गद्दीनसीन भएको अभिलेख पाइएकोले उनी महेन्द्र मल्लका बाबु नरेन्द्र मल्लका समकालीन देखिन आए ।

गोविन्द देव एक बर्षमात्र राजा भई वि.सं १५९१ मा स्वर्गारोहण भएपछि उनका छोरा इन्द्रसिंह देव दोलखाको राजगद्धिमा बसे । उपत्यकाको केन्द्र शासन (त्यो बेला राजधानी भक्तपुर थियो) बाट मुक्त भई स्वतन्त्र, शासकको रुपमा सं.१५७७ देखि नै उजोत देवले आफूलाई “दोलखा पटृनाधिपति” कहलाएका थिए । उजोतदेव इन्द्रसिंह देवका बाजे हुन् । इन्द्रसिंह देवले आफू शासनरुढ भएपछि, दोलखाको आर्थिक र राजनैतिक स्थिति सुद्दृढ पारी राजाहरुको राजा “राजाधिराज” कहलाउन पुगे । इन्द्रसिंह देवका अभिलेख चाहि सं.१६०१ देखि मात्र पाइएका छन् । उनको विवाह कुनै खानदानी राजवंशीको छोरी विजयलक्ष्मीसंग भएको थियो ।

मौद्रिक कला इतिहासमा दोलखाको यस चाँदीको मुद्राले राजकीय वंश र समय तालिका हाल सम्म प्राप्त ने.सं ६६५ देखि ६६८ सम्मका अभिलेख अनुसार, ६६८ देखि महेन्द्रमल्लको पहिलो अभिलेख ६८० सम्म १२ वर्षको दूरीले यो मुद्राको अग्रभागमाचार हरफको प्रचलित नेपाल लिपिको केही अप्रभंसयुक्त अभिलेखमा “दोलखाधिपति श्री श्री जयईन्द्रसिंह देव स्थ” र पृष्ठ भागमा चार हरफमै “पट्ट महादेव श्री विजय लक्ष्मी देव्य” अङ्कित छ । अभिलेखलाई वर्गाकार कोष्ठभित्र यज्ञवेदिका स्वरुपको भृपुरमा आवेष्ठित गरेर चार द्धारमा अङ्ग्रेजी गोलो आकृतिहरुले अलङकृत यस मुद्राको तौल १००९ ग्राम अर्कोतिर दोलखाको सार्वभौम सम्पनताको अर्थभास नदिने होइन । भौगोलिक रुपमा तामाकोशीको किनारै किनारको बाटो गरी भारत पनि पुग्ने त्यस्तै विगु गुम्वा, लामाबगर भएर उत्तरतिरबाट भोटमा समेत पुगिने दोवाटोमा अवस्थित दोलखाको नामाकरणले पनि सम्पन्नताको पनि आभास दिन्छ । आर्थिक समृद्धिका लागि सम्पुर्ण पूर्वाधार रहेको दोलखा मध्यकालमा केन्द्रीत शासन नेपाल मण्डलका सामु के हैसियत रहेछ भन्ने कुरा पशुपतिको सन्धिपत्र अभिलेखद्धारा स्पष्ट हुन्छ ।

ने.सं ६६८ के उक्त पशुपति अभिलेख अनुसार आफुलाई “राजाअधिराज” दोलखापस्याधिपति” उपाधि विभुषित गराई मुद्रासमेत निष्कासन गरेको राजा जयईन्द्रसिंह देव उपत्यकाका मल्ल राजाहरु अर्थात महिन्द्रमल्लको शासनकालमा भन्दा करिव १२ बर्ष अगाडी दोलखामा शासन संचालन गरेको ईतिहासबाट प्रमाणीत भएकोले दोलखाधिपति राजा जयईन्द्रसिंह देवको मुद्राको उपस्थितिले भने नेपालको मौद्रिक इतिहासमा पहिलो चाँदिको मोहरको उपाधि प्राप्त गरेको छ ।

यसलाई कसैले लुकाएर लुकाउन सक्ने अवस्था छैन किनभने यसको लागि ईतिहास र मोहर अझसम्मपनि जिवित रहेको छ । साथै यस मुद्राको प्राप्तिले लोकमान्यता, किम्बदन्ती र वंशावली परम्परामा उल्लेखित मान्यता प्राप्त “महेन्द्र मल्ली” को “सर्वप्राचिन चाँदीको मोहर” को उपाधिमा प्रश्न चिन्ह तेस्र्याएको छ । या त “दोलखाको मुद्रा” लाई मध्यकालिन नेपाल मण्डलको मुद्रा भन्दा भिन्दै मान्नु प¥यो होईन भने सर्वप्राचिन नेपालको पहिलो चाँदीको मुद्रा दोलखाधिपति राजा जय ईन्द्रसिंह देवको शासनकालमा निष्काशन भएको भनाई प्रमाणीत भएको छ ।

यसलाई आफुलाई ईतिहासकारको दर्जामा राख्न रुचाउनेहरुले आफ्नो कलम चलाउदा नेपालको पहिलो चाँदीको सिक्का प्रकाशनमा ल्याउने राजा दोलखाधिपती जयईन्द्रसिंह देव भन्न किन हिचकिच्याउने ? ईतिहासले जे देखाउछ त्यही तथ्य कुरालाई बाहिर ल्याउदा सबै नेपालीको गौरवता कायम हुनुका साथै स्वाभिमानीहरुको रक्षा हुन्छ । यसरी नेपालमा चाँदीको पहिलो मोहर प्रचलनमा ल्याई आर्थिक रुपले स्वायत्तता प्रदर्शन गर्ने राजा जय इन्द्रसिंह देवको नाम सदा स्मरण राख्नको लागि भीमेश्वर नगरपालीका वडा नं. २ पाखलती बसपार्क स्थित जय ईन्द्रसिह देवको प्रतिमा स्थापना गरिएको छ । जुन चोकको नामाकरण हाल ईन्दसिंह देव चोक गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!