११ भदाै, बाँपीझ्याला, काठमाण्डाैँ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले सञ्चालन गर्दै आएकाे प्रमाणपत्र तहभन्दा मुनिका सिएमए, अनमी जस्ता चिकित्सा शिक्षासंग सम्बन्धित शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएकाे छ ।
चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटिको प्रमाणपत्र तह मुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो ।चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव तथा प्रवक्ता डिल्ली लुइटेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि यस्तो निर्णय गरेको बताए ।
विद्यार्थीहरुले एसइई उत्तिर्ण गरेपछि सिधै स्टाफ नर्सलगाएतका चिकित्सा शिक्षाका विषय अध्ययन गर्न पाउने व्यवस्था रहेकोले प्रमाणपत्र मुनिका कार्यक्रम पढ्न आवश्यक नरहेको बताए ।
‘प्रमाणपत्र तह मुनिका कार्यक्रम अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरेर सरकारी सेवामा समेत बिज्ञापन हुन छाडेको छ, उनले भने, ‘एसइइपपछि प्रमाणपत्र तहका कार्यक्रम पढ्न पाइन्छ र त्यो भन्दा मुनि विज्ञापन नहुने भएपछि विद्यार्थीले पढ्ने तर कामको अवसर नहुने भएपछि यस्तो व्यवस्था भएको हो ।’
आयोगको यो निर्णयसंगै अब विश्वविद्यालयमातहातका क्याम्पसले सञ्चालन गरेका प्रमाणपत्र तहको नर्सिङलगाएतका कार्यक्रम बन्द हुने भएकाे छ । विश्वविद्यालयका अन्य कार्यक्रम खारेज भएको वर्षौ हुँदा पनि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।
आयोगका सदस्य–सचिव लुइटेलले प्रमाणपत्र मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाले तोकिएको मापदण्ड पुरा गरेमा मिल्दो विषयमा प्रमाणपत्रको कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाउने बताए ।
अब प्रमाणपत्र तहका सबै कार्यक्रम सिटिइभिटीबाट सञ्चालन हुने भएका छन भने सिटिइभिटबाट सञ्चालन भएका प्रमाणपत्र तह मुनिका कार्यक्रम यसै शैक्षिकसत्रदेखि बन्द हुने भएका छन् ।