
घण्टाकर्ण पर्व के शुरु हुन्छ, दोलखामा जात्रापर्वको लहर पनि शुरु हुन्छ । घण्टाकर्णको भोलिपल्टदेखि कृष्णअष्टमीसम्म प्रत्येक दिन ऐतिहासिक शहर दोलखामा दिनमा होस् या रातमा एउटा न एउटा जात्रा हुने नै गर्दछ । घण्टाकर्णदेखि जनैपूर्णिमासम्म लाखेनाचले दोलखाको वातावरणलाई नै लाखेमय बनाइदिन्छ भने त्यसको भोलिपल्ट हुने गाईजात्रा र गाईजात्राको भोलिपल्टदेखि षष्ठी तिथिसम्म पाँचरात रातभरी सञ्चालन हुने कुमारी जात्राको कर्णप्रिय गुञ्जनले दोलखालाई जागृत बनाइदिन्छ । मैन, सिन्दुर र रत्नजडित गहुँगो मुखुण्डो भैरव र कुमारीले रातभरी टाउँकोमाथि राखेर बाजाको तालमा नाच्नुपर्ने तर ती देवगणहरुलाई दैवीशक्तिको कारणले कुनै पनि अप्ठ्यारो महशुस नहुने विशेषताले दैवीशक्तिको मान्यतालाई मूर्त रुप दिएको पाईन्छ । दोलखामा बालबच्चाहरु विरामी भएमा कुमारीको पूजाआजा गरेमा छिटै निको हुने विश्वास गरिन्छ ।
जात्रामा भैरव, कुमारी, इन्द्र, नायिका, घोडचढी, माझी, धागो मिलाउने, ध्वजापताका बोक्ने, साहनबाहन गरी जम्मा तेह्र जना देवगणहरु सहभागी हुन्छन् । ती देवगणहरु स्थानीय शिवभक्ति थरका हुन्छन् र अन्य थरका मानिसहरु देवगणमा सहभागी हुन नहुने मान्यता रहेको छ भने कुमारीको पुजारीको रुपमा पिङ्गल टोलका श्रेष्ठ थरका मानिसहरु मात्र हुने गर्दछन् ।
प्रत्येक रात लगभग नौ–दश बजेबाट शुरु भएर पूरै दोलखा बजार परिक्रमा गरिसके पश्चात् जात्रा समापन हुँदा विहानीको प्रथम प्रहर शुरु भैसकेको हुन्छ । यो समयमा दिनमा भन्दा रातमा दोलखाबजारमा रमाइलोको चहलपहल हुने गर्दछ । जात्रामा भैरव, कुमारी लगायत अन्य देवगणहरुलाई रत्नजडित विभिन्न आभूषण पहिराइ ब्रतालुहरुले ल्याएका सगुनहरु दिइसकेपछि मात्र जात्रा शुरु हुन्छ । यो जात्रा पहिले–पहिले पिङ्गल टोलको कुमारी घर र हालकै टसिचा टोलमा रहेको कुमारी घरबाट पालो गरी निकाल्ने गरिन्थ्यो भने केही वर्ष अघिदेखि भने टसिचा टोलको कुमारी घरबाट मात्र निकाल्ने गरिदै आएको छ । जात्राको पहिलो दिन कुमारीको नृत्यलाई भूतले हेर्छ भन्ने मान्यता रहेकाले सो दिन ब्रत बस्ने तथा भक्तजनको सहभागीता कम भएपनि दोस्रो दिनदेखि ब्रत बस्नेहरुको घुइचो नै लाग्ने गर्दछ । जात्रा हेर्न र कुमारीको दर्शन गर्नका लागि रातको परवाह नगरी गृह जिल्ला लगायत छिमेकी जिल्लाका भक्तजनहरुको समेत ओइरो लाग्ने गरेको छ । कतिपय दर्शनार्थी तथा भक्तजनहरु जात्राकै पछि–पछि लागेर पूरै रात समेत बिताउने गर्दछन् ।
पौराणिक किंवदन्ती अनुसार ‘जब आचार्य थरका दुई तान्त्रिक दाजुभाइले तामाकोशीको तीरमा दुई युवतीलाई देखे तत्पश्चात् तिनीहरु एउटी त्रिपुरासुन्दरी र अर्की कुमारी हुन् भन्ने कुरा आफ्नो तान्त्रिक ज्ञानबाट थाहा पाए । तसर्थ तिनीहरुलाई दोलखा बजारमा नै बस्ने आग्रह अनुसार ती दुई युवतीले आफूहरु तामाकोशी नदि देखिने साथै त्रिपुरासुन्दरीले भने आफ्नी दुई बहिनी कालिञ्चोक भगवती र बालकुमारी समेतदेखिने ठाउँमा बस्न मञ्जुर गरे । कुमारी भने अति चञ्चल स्वभावको भएकीले सँधै रातो पहिरनमा दोलखा बजार घुम्ने गर्थीन् । यसो गर्दा त्यहाँका केटाकेटी धमाधम विरामी पर्न थाले । अचानक आएको यस्तो समस्याबाट मुक्त हुनका लागि दोलखाबासीहरुले तन्त्रमन्त्रमा निपुण कान्तिपुरका गुभाजुलाई गुहार मागी दोलखा लगे । तान्त्रिक विद्याको प्रयोगले ती गुभाजुले दोलखाबजारको दक्षिणपूर्वमा अवस्थित सानो जंगलजस्तो ठाउँमा खाल्डो खनी कुमारीलाई फलामे साङ्लाले बाँधे र आफूलाई भने चामलको पिठोको साङ्लाले बाँधे । तान्त्रिक मन्त्रोच्चारणले गुभाजू भने साङ्लाबाट छुट्न सफल भए तर कुमारीलाई भने ‘भुटेको भटमास नउम्रेसम्म, तामाकोशीको ढुंगा आँप नबनेसम्म र भँगेराले एक–एक खुट्टाले पाईला नचालेसम्म’ त्यही खाल्डोमै बस्ने बाचा गराई समस्याको समाधान गरे । हाल उक्त ठाउँलाई स्थानीयहरु कोबिदेउ (तल्लो ठाउँको देवता) को नामले पुकार्दछन् । उक्त मन्दिरमा स्थानीय शिवभक्ति थर र तन्त्रमन्त्र भएका व्यक्तिहरु मात्र जाने गर्दछन् ।
यो जात्राको शुरुवात कहिलेदेखि भएको हो भन्ने सत्यतत्य प्रमाण नभएता पनि कसरी भयो भन्ने सन्दर्भमा ‘दोलखामा एक घर्ती जातकी बुढी सँधै देवी चढ्थिन् तत्पश्चात् दोलखा बजारका केटाकेटीहरु कुनै न कुनै रोगको बहानामा मर्न थाले । यो कुरा सहन नसकी बोक्सीको आरोपमा उक्त बुढीलाई एक स्थानीय बुढाले पिट्न थाले । त्यसै समयमा ती बुढीले ‘आफू बोक्सी नभएर कुमारी भएको साथै केटाकेटी मर्नुमा आफ्नो कुनै भूमिका नभएको र गुभाजुले आफूलाई बाचा गराई जमिनमुनि बाँधेर राखेको कुरा बक्न थाले ।’
त्यसै समयमा गुभाजुले आफ्नो तान्त्रिक विद्याको शक्तिले कुमारी नै रहेछ भन्ने थाहा पाएपछि क्षमा मागी वर्षेनी गाईजात्राको भोलिपल्टदेखि पूर्णिमाको द्वितीयादेखि षष्ठी तिथिसम्म पाँच रात कुमारीको जात्रा निकाल्ने शर्तमा कुमारीलाई शान्त पारे । सोही समयदेखि नै यो जात्राको शुरुवात भएको हो भन्ने कुरा स्थानीय बुढापाकाहरु बताउँछन् । चञ्चल स्वचावकी कुमारीले कुनै पनि समय केही न केही विध्वंश गर्न सक्ने आशंकामा विध्वंश हुनबाट बचाउनका लागि कुमारीको पति भैरवलाई समेत जात्रामा सहभागी गराइने भएकोले यो जात्रालाई भैरवकुमारीको जात्रा पनि भन्ने गरिन्छ ।
जात्रा प्रदर्शनको समयमा जहिल्यै पनि भैरव अगाडि र कुमारी पछाडि बस्नु पर्ने, प्रत्येक रातको जात्रा अवधिभरि बाजा रोक्न नहुने, कसैले सिठ्ठी बजाउन नहुने अन्यथा कुनै अनिष्ट हुनसक्ने किंवदन्ती रहेको छ । वि.सं. २०७५ सालमा भने दोलखाका स्थानीय वासिन्दाहरुले गुन्लाँ पर्वको (हिलेजात्रा) पुरै अवधिलाई महोत्वसको रुपमा मनाएको छ । दोलखाको गुन्लाँ पर्वलाई नजिकबाट नियाल्न चाहनेहरुका लागि यो सुवर्ण अवसर भएको थियो ।
फोटो ः भैरव (कालो पहिरनमा) र कुमारी (रातो पहिरनमा)