
स्वतन्त्र पत्रकार/ फोटोपत्रकार
घुम्ने रहर कसलाई नहोला र ? कोही रहरले घुम्लान कोही काम विशेषले । म भने दुबै कारणले । मनको आँखा खोली हेरे संसार नेपालमै छ भन्छन् भन्नेहरु । कुरा सत्य साबित भो जब आफै घुम्न थालें ।
१५ वर्षको विगतलाई फर्केर हेरें । रेडियो नेपालको स्टुडियोबाट शुरु भएको मेरो यात्रा केएटिच, काठमाडौं, मनकामना एफएम, हेटौंडा, माच्छापुच्छ्रे एफएम, पोखरा हुँदै पुनः टाइम्स एफएम.काठमाडौंमा कार्यक्रम संचालकको जिम्मेवारीमा मात्रै मेरो जीवन सीमित थियो त्यतिबेला । आफ्नो व्यक्तिगत खुशी र चाहना सबै भुलि सकेकी थिएं । रेडियोमा मनका कुरा बोल्दै र अरुलाई खुशी दिनुमा नै बित्यो भन्दा सायदै कसैले एकिन नगर्ला तर सत्य यही थियो ।
जब एफएमको कार्यक्रम सञ्चालकको जिम्मेवारीबाट आफैलाई मुक्त गरें तब मेरो अगाडी केवल शुन्य थियो । अब अगाडीको यात्रा कहाँ र कसरी हुन्छ त्यसबाट पूर्णरुपमा म अनभिज्ञ थिएं । मेरो अगाडी सिंगो संसार थियो तर म त्यो संसारको रमझमबाट अनजान थिएं । तब मैले क्यामरालाई आफ्नो साथी बनाएं । अनि हिंडे आफ्नै सुरमा । संसार मुस्कुराइरहेको थियो र म त्यो मुस्कुराहटलाई आफ्नो क्यामरामा कैद गर्नमा तल्लिन भएं । मैले क्यामरासंग मित्रता गाँस्दै लगें । क्यामरा मेरो आंैलाको अभ्यस्त बन्दै गयो । नतिजा, मैले यो विगत दुई तीन वर्षमा धेरै नयाँ ठाउँको भूमिलाई बुझ्ने र चुम्ने अवसर पाएं ।
घुमफिरको सेरोफेरोमा मेरो सपनाको गाउँँ मल्लकालिन शहर दोलखा पनि अछुत रहन सकेन । दोलखामा पाइला टेक्ने अवसर आजसम्ममा तीन पटक मात्रै पाएं । तर दोलखा शब्दसंग नाता त्यतिबेला देखि अनायसै जुडेको थियो जब म नेपाल भाषामा एम.ए.को अध्ययन पाटन क्याम्पसमा गर्दै थिएं । त्यतिबेला भाषाविज्ञानमा दोलखाको बारेमा सामान्य जानकारीका साथै दोलखा नेपाल भाषा नेपालभाषाको सबभन्दा प्राचीन भाषा भन्ने कुरा लेखिएको थियो र त्यहाँ बोलिने नेपाल भाषा पनि हामीले बोल्ने नेपाल भाषा भन्दा फरक भन्ने कुरा थाहा भो । एफएममा अक्सर मैले बजाउने दोलखा नेपाल भाषाको एक नेवारी गीतले पनि मन लोभ्याएको थियो ूकालिन्चोकय् चिमाल स्वन मजान होयन च्वन् अर्थ त केही बुझेको थिएन तर संगीतको पारखी म मलाई यो गीत साह्रै मन पथ्र्यो । त्यतिबेलै दोलखा कस्तो होला भन्ने मनमा एक जिज्ञासा अवश्य थियो । कुनै बेला मौका मिलेमा जाने भन्ने सोच सम्म मनमा साँचेर राखें । त्यो मौका मिल्यो वि.सं २०५६ सालमा । द्वाल्खा नेपाल भाषा खलकको आमन्त्रण र संयोजकत्वमा नेवाः देय् दबूको सक्रियतामा न्हूदँयाको उपलक्ष्यमा मोटरसाईकल ¥याली कार्यक्रम दोलखामा हुने भो ।
जाने लिस्टमा म पनि परेछु । दोलखा भम्रणको पहिलो चिनोको रुपमा खरीढुंगामा किनेको त्यो मैन स्ट्याण्ड अझै पनि सम्मालेर राखेकी छु । अरु त खासै याद भएन तर दोलखा पुग्ने वितिकै दोलखाको प्रवेशद्वार भीमेश्वर नगरपालीका वडा नंं २ स्थित पाखलतीमा आमन्त्रीत पाहुनाहरुलाई द्वाल्खा नेपाल भाषा लगायत अन्य संघ संस्था र दोलखावासीहरुको तर्फबाट नेवारी परम्परा अनुसार टिका, तुल लगाएर सगुनबाट स्वागत गरिएको थियो । यस पश्चात भीमेश्वर नगरपालीका वडा नं. २ पुरानो वस्ती तल्लोटोल कोर्छे टोलको स्वयम्भु स्थित दोलखा र उपत्यकाकाको सामुहिक सांस्कृतिक कार्यक्रम प्रद्र्धशन गरिएको थियो उक्त कार्यक्रम पछि राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको प्राङ्गनमा नेवारी रात्री भोजमा सामेल भै समैबजी, भोज खाएको र यसै गरी त्यहींंको स्थानीयवासीको घरमा रात विताएको याद अझ पनि मेरो मानस पटलमा ताजा रहेको छ । त्यसपछि भोली पल्ट बिहान दोलखा भीमेश्वर, त्रिपुरासुन्दरीको दर्शन गर्ने सुर्वण अवसर प्राप्त भयो । यो थियो मेरो पहिलो पल्ट दोलखा पुग्दाको अनुभव ।

दोश्रो पटकको दोलखा भ्रमण वि.सं २०७५ सालमा पनि अचानक पाएं । त्यो बेला स्वयम्भू ज्ञानमाला भजन खलःको सिन्धुपाल्चोकको तौथलीमा बुद्ध भजन गर्ने कार्यक्रम थियो । म पनि उनीहरुसंगै तौथलीतिर लागें । त्यहींबाट दोलखा भिमेश्वरको पनि दर्शन गर्ने भनी कार्यक्रम तय भएपछि दोश्रो पटक दोलखामा पाइला टेक्ने मौका जु¥यो । दिउँसोतिर दोलखा पुगें । साँझ भीमेश्वरको दर्शन गरें र त्यहींको एक होटलमा चिया पिउन पुगें । त्यहाँ भेटेका दुइ बालबालिकासंग दोलखा नेपाल (नेवारी) भाषामा दुई शब्द सिकेर आएं । “छन नाम हाति ? जन नाम रेखा” भोलिपल्ट पुनः काठमाडौं । यो दुई पल्टको दोलखा भ्रमण मेरो लागी सामान्य नै थियो किनकी म दोलखामै जाने भनी मनमष्तिकबाट तयार थिइन । तर दोलखामा केही दिन बिताउन पाएमा मैले केही जान्ने र बुझ्ने मौका पाइन्थ्यो, यो कुरा मनमा खटकिएको अवश्य होे ।
दिनहरु एवं प्रकारले बित्दै थियो भने मेरो दिनचर्या पनि काठमाडौंमा हुने प्रत्येक जात्रामा जानु, फोटो खिच्नु अनि जात्राको बारेमा जानकारी संकलन मै बित्दै थियो । जागिरे जीवन छोडिसकेकी थिएं त्यसैले जात्रा नहुँदा केही साहित्य वा समसामायिक विषयमा कलम चलाउँदै दिन व्यतित गर्दै थिए । यतिबेला सम्म म जात्रा भनेपछि हुरुक्कै हुने भैसकेकी थिएं । त्यसैले काठमाडौंमा मात्रै होइन अन्त कता कता के के जात्रा हुन्छ मेरो चासोको विषय हुन थाल्यो र म सामाजिक सञ्जालमा जात्राको बारेमा खोजनिति गर्दै बस्थें । यसै सिलसिलमा दोलखामा पनि मच्छिन्द्रनाथको जात्रा हुन्छ र काठामाडौंको रथयात्रा भन्दा बेग्लै ६० डीग्रीको उकालो र आरोलोमा रथ तान्छ भन्ने सुनें, फेसबुकमा फोटो हेरें पनि । त्यसपछि मेरो मन त्यहाँ तानिन थाल्यो । तर एक्लै जाने आँट जुराउन सकिन ।

वि. सं २०७६ साल बैशाख १० गते साथी आलोकसिद्धीको फोन आयो । दोलखा जाने हो ? भनी सोध्यो । त्यो दिन मेरो माइलाबा बितेको ७ औं दिन थियो म इतुंबहालको हाम्रो पुखर््योली घरमा थिएं । जाने मन थियो तर घरबाट अनुमति दिन्छ की दिंदैन मन आकुलब्याकुल भो । शाक्यहरुको कोही मरेमा सातौंदिनमा चोखो हुन्छ यही कुरालाई आमाको अगाडी राखें । नभन्दै आमाले जाने अनुमति दिनु भो । त्यहीं बसी मृदु मुरारीजीलाई फोन सम्पर्क गरें । नभन्दै वहाँले भीमेश्वर नगरपालीका वडा नं २ का अध्यक्ष विराजमान श्रेष्ठको नम्बर दिनु भो र होटलहरु सबै बुकिंग भएकोले वहाँसंग सहयोग माग्न सुझाव दिनु भो । विराजजीसंग फोन सम्पर्क भएपछि काठमाडौंबाट हामी दुइचारजना जात्राप्रेमी पत्रकारहरु दोलखा आउन लागेको र त्यहाँ बस्ने कोठा मिलाइदिन अनुरोध गरें ।
नभन्दै वहाँले पनि फोनमा कुरा गरेको भरमा अभयपुर होमस्टेमा बुकिंग गरिदिनु भयो र रविन श्रेष्ठको मोबाइल नम्बरमा सम्पर्क गर्नु भन्नु भयो । यो सहयोग देखेर म दुइ अन्जान दोलखावासीहरु मुरारीजी (जो संग आज सम्म प्रत्यक्ष भेट भा को छैन) र अर्को वडा अध्यक्ष विराजजीप्रति नतमस्तक भएं वहाँहरुको सहृदयी सहयोगी भावनामा । बस्ने र गाडीको व्यवस्था त मिलाएं तर जाने को को अझै सम्म टुङ्गो लागेको थिएन । जानेमा म (रेखा) आलोक र वहाँकी श्रीमती सुनिता हामी तीन जना मात्रै निश्चित थियौं साँझ सम्म । सातजना सम्म अट्ने गाडी भएकोले अरु साथीहरुलाई पनि फोन मार्फत सम्पर्क गरें । जाने मन सबैको तर खर्च आ–आफ्नै भनेपछि केही न केही बहाना बनाउन थाल्यो । जे पर्छ तर्छ भन्ने मनमा सोच बनाई मनमा एक उमंग लिई ताहाचल घर पुगें र भोलिको यात्राको लागि क्यामराका साथै अन्य सामान मिलाउन थालें । बेलुकी रातको बाह्र बजे सम्ममा अर्को दुई जना भाई अनुप प्रधान (फोटोपत्रकार), रिग्वेद शर्मा (पत्रकार) पनि हामीसंगै जाने कुरामा राजी भयो ।
बिहान ७ बजे गाडी घरमा आउने कुरा आलोकले राती नै जानकारी गरेको थियो र अनुप पनि मेरै घरमा आई संगै जाने कुरा निधो भयो । विहान बुधबारको दिन समयमै अनुप घरमा आइपुग्यो । घरको गेटमा मात्रै पुगें भुकम्पले दस्तक दिइहाल्यो । एकैछिन टोलमा होहल्ला नै भो । वि.सं. २०७२ को महाभुकम्पले तर्साएको नर्बिसेका हामीले त्यो दिन बिहान सबैरै पनि अकस्मात ठुलै झड्का झेलें । कतै फेरी फर्केर आउने पो हो कि भनी सोच्न नपाउँदै गाडी आइपुग्यो हामी दुबै गाडीमा बसें र लागें दोलखाको भूमि चुम्न । गाडी कोटेश्वर, ठिमी, भक्तपुर, बनेपा, धुलिखेल हुँदै अगाडी बढ्यो ।

एक घण्टामा दोलालघाट पुग्यौं । चियाको चुस्की लिंदै सामान्य गफ भयो हाम्रो । मेरो मन गफमा भन्दापनि दोलखामा कति खेर पुगिन्छ मनमा कौत्हुलता थियो । एक नजानिंदो अदृश्य आकर्षणले तानिएको महसुस गरें । हुन त दोलखामा कोही साइनो, कोही साथीसंगी थिएन तर पनि मनमा एक प्रकारको रोमान्चित भावना थियो । गाडी फेरी आफ्नै रफ्तारमा हुँकिन थाल्यो भने मेरो मन त्यो भन्दा पनि वेगले दोलखा कस्तो होला ? कसरी रथ तान्दो हो ? त्यहाँको अनुभव कस्तो हुँदो हो ? कहाँ बसेर फोटो खिच्नु पर्ला भन्ने सोचको तानाबाना बुन्न थाल्यो । नभन्दै खाडीचौर हुँदै डाँडापाखर, ठूलोपाखर सिलढुंगा हुदै उकालो लाग्यौ त्यहाँको बाटोले गाडी उफ्रिन थाल्यो । मनमा अनायसै सोच्न पुगियो हैट यस्तो बेलामा एक मनमिल्ने साथी भए उसैलाई बेसरी समातेर बसिन्थ्यो कम से कम घोडामा उफ्रे जस्तो उफिन्नथ्यो की ? नादानी सोचले आफैं मुस्कुराय पनि । एकातिर मन मुस्कुरायो भने अर्कोतिर देश चलाउने नेताहरुको नालायकी पन र ठेकेदारहरुको कमिशनतन्त्र देखि रीस पनि उठ्यो । विकासको नाममा जति नै बजेट भएपनि बीचमा नै हडप गर्ने र समयमा सडक नबाउने उनीहरुको छाडातन्त्रलाई कसले कज्याउने हो । सडक राम्रो भए त बार्षिक रुपमा आवतजावत गर्नेको संख्या बढ्थ्यो, आन्तरीकका साथै बाह्य पर्यटक पनि आउँथ्यो । तर आफ्नो खल्ती भर्नमात्रै जान्नेले देशको साँच्चै विकास होस भन्ने सोचसम्म नपलाएकोमा सत्तासीनप्रति खेद प्रकट गर्नु बाहेक अरु शब्द र विकल्प थिएन म संग । जसोतसो बन्दै गरेको बाटो र ठाउँठाउँमा खाल्डाखुल्डीको कहिले उफ्राई कहिले बसाईको यात्रा तय गर्दै मुडे बजार नि पुगियो । मान्छेलाई खाली जग्गा देख्नु हुन्न तुरुन्तै घर सटरसहित ठड्याउन हतार । पसल थाप्यो । सक्यो । त्यसको लागी त्यहाँ सम्म पुग्ने पूर्वाधार बाटोघाटोको विकास जेसुकै होस । पहिला जाँदाको स्मृतिलाई जति याद गरेपनि मैले त्यो ठाउँलाई पहिल्याउन सकिन । धेरै परिवर्तन भई सकेको थियो । खरीढुंगा पनि मेरो मानसपटलमा रहेको त्यो झिनो यादसंग मेल खाएन ।
यात्राको क्रममा कि मन मिल्ने साथै हुनुपर्छ कि त मजाले गफ गर्ने साथी हुनुपर्छ अनि मात्र भोक प्यास बिर्सिन्छ भन्छन् । तर यी दुबै कुरामा म एक्लो भएं । त्यसैले होला भोकले पनि सताउन थाल्यो । गन्तब्यमा चाँडै पुग्नुपर्छ भन्ने सबको बिचारले गाडी एकतमासले अगाडी बढ्दै थियो । बाटोबाटै अभयरपुरमा रविनजीलाई खाना पकाइदिन अनुरोध मैले गरिसकेकी थिएं । नभन्दै चरिकोटको दृश्य मेरो सामू । दायाँबायाँ सबै आधुनिक घरको लहर । चरिकोट निकै विकास भैसकेको अनुमान गरें ठूल्ठुला भवन देखि लिएर हरेक बैंकको साइनबोर्ड लहरै । जहाँ विकास हुन्छ त्यहाँ बैंकका शाखाको लहरले त्यसको प्रतिनिधित्व गर्छ भन्ने कुरा यहाँ पनि देख्न पाएं । जे होस चरिकोट देखेर नयाँ बानेश्वरको दृश्य याद दिलायो । त्यहाँबाट हामी सिधै दोलखा जाने बाटो लाग्यौं । करिब साढे एक बजे अभयरपुर होमस्टेमा हामी पुग्यौं मन मुस्कायो, सोचें मेरो गन्तब्य नजिक छ ।
रविनजीको हँसिलो मुहारले हामीसबैलाई स्वागत गर्यो । एकछिन कोठामा सामान बिसाइ फ्रेस भई खाना खायौं र रविनजी संगै जात्राको बारेमा सोधपुछ गर्न थाल्यौं । किनकी हामी मध्ये कसैले पनि दोलखा बुग्देउको रथजात्रा हेर्ने सुअवसर पाएका थिएनौं र कसैलाई चिन्दैन्थ्यौ पनि । वहाँसंगको थोरै बहुत जानकारी लिई सबैले क्यामरा बोकी दोलखा शहर अर्थात नेवारी बस्तीतिर गयौं ।
टसिचामा बुग्देउको रथ देख्ने वितिक्कै मेरो मनमा एक प्रकारको सुखद अनुभुति महशुष भयो । लाग्यो आज बल्ल मेरो सपनाको गाउँ दोलखा शहर पुग्ने सपना साँचो भो । नयाँ ठाँउ, नौलो मानिसहरुको भीड । मैले उनीहरुलाई हेरें उनीहरुले मलाई । दुबैतर्फ अन्जान हेराई । सायद त्यो हेराईमा म कुनै आफ्नोपनको हेराई खोज्दै थिएं तर मैले त्यो नजर पाउन सकिन । त्यही भिडमा पनि उपत्ययकाबाट सोही जात्रा हेर्न आउनेमा चीरपरिचित व्यक्तिहरु देखेपछि खुशी दुगुना हुनु स्वभाविक थियो । हेर्दा हेर्दै मान्छेहरुको भीड बढ्न थाल्यो । बाजागाजाको रौनकबाट म अनभिज्ञ पक्कै थिएन तर पनि त्यहाँको भिडले एक कौतुहता र रोमान्चकता थप्दै थियो । म मन्त्रमुग्ध बनी फोटो खिच्न र सेल्फी लिनमा मस्त थिएं । नभन्दै रथ तान्नै लागेपछि डाँडामाथि पुगें तर मैले सोचे जस्तो भएन ।
रथको डोरी तान्न मान्छेहरु सोही डाँडामा उफ्री उफ्री आएपछि झण्डै मेरो क्यामरा भुंइमा नझरेको । नौलो ठाउँको जात्राको बारेमा कहाँ कसरी बसेर फोटो खिच्ने त्यसको अनुभवको कमी मैले महशुष गरें । त्यसपछि आफूलाई र क्यामरालाई सुरक्षित गर्दै फोटोको साथमा भिडियो पनि खिच्दै गएं । जब रथ उकालो तानिन्दै थियो रथ ब्यालेन्स नमिलेर ढल्यो । मनमा आशंका भयो अब के अपशकुन हुने होला ? किनकी पाटनमा रातो मच्छिन्द्रनाथको रथपनि यसरी नै नराम्रो संग सुन्धारामा पुग्नु अघि ढलेको दृश्यको प्रत्यक्षदर्शी म । त्यतिखेर त मान्छेहरु पनि घाइते भएको थियो । रथ ढलेपछि देशमा संकट आउने जुन जनविश्वास थियो त्यो पनि भएकै थियो । धन्न यहाँ त्यस्तो केही अप्रिय घटना भएन र तुरुन्तै रथ पुनः ठड्याइयो । तर पनि मनमा आशंकाले जरो गाड्यो कतै राष्ट्रमा केही संकट आउने सूचक त होइन यो ? मनमा खिन्नताको आभाष भयो ।
दोलखाको मच्छिन्द्रनाथको जात्रामा गुभाजुबाट पुजा गर्ने क्रममा
रथ पुनः तान्न थाल्यो । काठमाडौंमा पनि रथ तानेको देखेकै हुँ तर दोलखाको दाँजोमा काठमाडौंको रथ तान्नु बेग्लै रैछ । पांग्राको करौंतीको जस्तो स्वरुप नै काठमाडौं र दोलखाको रथमा देखिएको भिन्नता थियो । काठमाडौंमा फराकिलो सडकमा रथ तान्थ्यो तर दोलखामा साँगुरो त्यही पनि उकालो बाटोमा । प्रत्येक पल पांग्राको गति र त्यही अनुपातमा डोरीको खिंचाईलाई मध्यनजर गरी रथलाई तान्दै थियो ।
उपत्ययककाबाट जात्रा हेर्न आउनेहरु पनि कोही जात्रा हेर्दै रम्दै थिए भने कोही रथ तान्न तँछाडमछाँड गर्दैथियो । झल्याँस सम्झे काठमाडौं, लतिलपुरवासीले शहरमा जस्तै तान्ने होला भनी लगाएको बलले शायद रथको ब्यालेन्स बिग्रिएछ अनि रथ ढल्यो । यो मेरो भ्रम पनि हुन सक्छ । जे होस् रथ तानिन्दै अगाडी बढ्यो म भने रथ भन्दा पहिला नै बुद्ध स्तुपानिरको घरको माथिल्लो कौसीमा पुगी त्यहाँबाट दृश्य भिडियोमा कैद गर्न थालें । म त्यो बेलाको मेरो खुशीको पल शब्दमा बयान गर्न सक्दिन ।
मान्छेहरुको भीड र होस्ते हैस्सैको नाराले दोलखा थर्किएको थियो । अझ रोमान्चक र जोखिम तब लाग्यो जब रथलाई ६० डिग्रीको उकालोमा बुद्ध स्तुपाको प्रांगणमा ल्याउन सबले गरेको कोशिश । त्यसमाथि रथको प्रतिनिधित्व गर्दै युवा वडा अध्यक्ष विराजजीले रथलाई हाँक्ने र दिशा निर्देशन दिंदै गर्दाको पललाई मनमनै सलाम गरेें । यसरी नै हरेक युवाले जोश र उत्साह लिइ जनमानसमा भिज्दै आफ्नो जात्रा परम्परालाई साथ दिंदै जाने हो भने दोलखावासीले पनि वहाँको अनुसरण गर्र्दै आफ्नो मौलिकपनको जर्गेना गर्न उत्साहित हुनेछ भन्ने मनले सोचें । सोचकै बीचमा पनि म मन्त्रमुग्ध हुन्दै जात्रालाई नियाल्दै थिएं अन्तमा रथलाई माथि तानियो र सबैले हर्षोउल्सासका साथ सो दिनको जात्रा सुखद रुपले सफल भएकोमा खुशीयालीमा ताली बजायो । म पनि बुग्देउको दर्शन गरी हुलमुलमा छुटिएका साथीभाइलाई खोजी पुनः अभयरपुर होमस्टे भी.न.पा. २ माने तिर आइयो । यो थियो दोलखा जात्राको मेरो पहिलो दिनको अनुभव ।

दोश्रो दिन । विहान सबेरै उठें । यसो पुर्व तिर हेर निर्मल जस्तो छङ्ग स्पष्ट देखिने दोलखाको पृष्ठभुुमीमा रहेको गौरीशंकर हिमाल अनी चुचुरो बाट उदाउदै गरेको सुर्यको नवकिरण दृश्य, यसरी उदाउँदै गरेको सूर्यको फोटो खिचें । दोलखाको बारेमा अरु थप कुरा बुझ्नु थियो । रविनजीलाई विराजजीसंग भेटको लागी समय मिलाउन आग्रह गरें । हामी सबै दोलखा भिमेश्वरको मन्दिर पुगें, दर्शन गरें र विराजजीको प्रतिक्षामा बसें एकछिनको पर्खाई पछि वहाँ आउनु भो । दोलखाको इतिहास र जात्राको बारेमा धेरै कुराहरु बताउनु भयो जुन हामीले भिडियोमा कैद गर्यौं । वहाँले कुरा बताइरहंदा काठमाडौंमा जस्तै यहाँ पनि जात्रापर्व चलाउन समस्या भएको कुरा बुझें । तर स्थानीय सरकार आएपछि र आफू पनि वडा अध्यक्ष भएकै नाताले यसको लागि बजेटको व्यवस्थादेखि सबै तारताम्य मिालउने प्रयास गर्ने कुरा सुनाउनु भो । साथै ऐतिहासिक प्राचीन दोलखामा १०० वर्ष पुराना घर, टक्सारको हालतको बारेमा जिज्ञासा राख्दा सम्बन्धित व्यक्तिहरुसंग कुरा हुँदै गरेको र यसको लागि आफूले पनि यसलाई समाधानको बाटो पहिल्याउन कोशिश गर्दै गरेको कुरा सुनाउनु भो । केही फोटो वहाँसंग सम्झनाको चिनोको रुपमा खिच्यौं, वहाँले पनि दोलखाको प्रसादका साथै दुइटा सीडी कोसेलीको रुपमा हामी सबैलाई दिनु भो । सोही समयमा कलाकार मदनदास श्रेष्ठजी संगपनि भेट भो । भलाकुसारीको साथै केही फोटो वहाँसंग पनि खिच्यौं । जात्रा साँझमा मात्रै हुने भनेकाले खाना खान पुनः अभयपुर फर्कियौं । केही बेरको आरामपछि करिब १ बजेतिर हामी बस्तीमा पुग्यौं ।
२०७२ सालको महाभुकम्पले ताण्डव नृत्य गरेको हामीले सजिलै भुल्ने कुरा थिएन । दोलखा पनि अछुत नरहेको बस्तीमा घुम्दै गर्दा सजिलै देख्न पायौं । भत्केको घर, कलात्मक आँखीझ्याल, दरबार सबै चिच्याहटमा आधी भाग देखाएर रुँदै थियो भने कुनै घर बन्दै थियो । कहिं टहरामा जीवन यापन गर्दै थियो त कहिं भने दुखेको आलो घाउ देखाएर बस्दै थियो । दोलखाको प्रत्येक कुरा क्यामरामा कैद गर्दै थिएं म । राजकुलो, भत्किएको दरबारको आधी भागमा राजकुलेश्वर निम्न माध्यामिक विद्यालय बन्दैै गरेको, नारायणमन्दिर, तलेजु मन्दिर, ठाउँठाउँको बौद्ध स्तुपा, तलेजु मन्दिर, दोलखा भीमेश्वरको देवघर, टक्सारको जिर्णभएको घर, १०० वर्ष पुरानो घरबाहेक जे जति आँखामा समायो सबैको फोटो खिच्दै गयौं । स्थानीय भाई सुप्रिम जोशीसंगको सहयोगमा राजकुलेश्वर निम्न माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तीर्थ नारायण जोशीसंग पनि दोलखाको ऐतिहासिक र सांस्कृतिकका साथै आउने दिनमा हुँदै गरेको विकास र त्यहाँको जनजीवनको धेरै कुरा भिडियोमा कैद गरें । त्यो समय पानी पर्दै थियो तर पनि हामीले आफ्नो कामलाई विश्राम दिएनौं किनकी हामीसंग त्यहि १ दिन थियो दोलखाको बारेमा जान्न बुझ्न ।
हाँसंगको छोटो भेटमा जति सकिन्छ त्यति जानकारी हासिल गरी हामी अन्य त्यहींको महत्वपूर्ण ठाउँमा घुम्दै ३ बजेतिर हामी फेरी बुद्ध स्तुपा पुग्यौं । मान्छेहरु आउने क्रम जारी थियो । स्थानीयहरु बाजा बजाउँदै थिए भने म त्यही दृश्य कैद गर्दै थिएं । सोही समयमा जात्रा शुरु पनि भयो । हिजो उकालो तानेको दृश्य त कौसी माथि बसी हेर्यौ आज ओरालो लागेको दृश्य हेर्नु र खिच्नु थियो । त्यसैले सोही दृश्य खिच्न उपयुक्त ठाउँमा बसें । मेरो हंसले तब ठाउँ छाड्यो जब रथ सिंढीबाट घच्याक्क आवाज निकाली तल झर्यो । किन कि रथको ठिक सामन्नेको बारीमा म उभिएकी थिएं अकस्मात मेरो मुखबाट ठूलो स्वर निस्केको अझै सम्म याद छ । यहाँ पनि दोलखाबासीको कार्यकुशलता र विराजीको रथलाई सही दिशा निर्देशन दिएको प्रत्यक्ष हेर्न पाएं । मन गदगद भो । रथ तान्नु आफैमा एक साहसिक कदम त थियो नै सबैको लागी तर अगुवाइमा बस्नेले जुन सुझबुझले दिशा निर्देशन गर्छ त्यो पनि काबिले तारीफ थियो । त्यसमाथि वहाँ स्वयम एक बच्चाको जस्तो निश्चल हाँसो हाँस्दै सबैलाई हौसला दिंदै थियो जुन दृश्य देखेर म नहाँसी बस्न सकेन । जे होस् गाह्रो साह्रो जे भएपनि रमाइलो वातावरणमा रथलाई तान्दै दुंगल टोलमा पु¥याइयो । बुग्देउको पुजारी नरेन्द्र तुलाधरसंग पनि जात्राको बारेमा केही कुराकानी गरें । सो दिनको जात्रा पनि समापन भो । थकित तनको साथमा लरखराउँदै गरेको खुट्टालाई हिम्मत दिंदै पुनः बुद्ध स्तुपा पुगें । भोक र प्यासले लखतरान हामी सबैले त्यहीं केही खानेकुरा खाँदै रमाइलो गफले आफूहरुलाई ताजा बनायौं । दोश्रो दिनको हाम्रो यात्रा यहीं सकेको थियो ।
दोलखाको मच्छिन्द्रनाथको रथजात्रा माथिल्लो टोलबाट दुङ्गल टोल लाने क्रममा
तेश्रो दिन । हामी त्रिपुरासुन्दरी माईको दर्शन गर्न गयौं बन्दै गरेको त्रिपुरासुन्दरी माइको घरलाई नियाली त्यही नजिकको चम्पुजा पार्कले नामाकरण गरिएको एउटा सुन्दर बगैंचामा एकछिन थकाई मा¥यौं । यस पार्कबाट गौरीशंकर हिमालको दृश्य मज्जाले लोभ लाग्दो गरी देखिन्ने रहेछ यसै गरी निश्चल आफ्नै तालमा छङछङ बगिरहेको तामाकोशीको सुसेलीलाई एक छिन म लगायत साथीहरुले नियाल्दै हेरी रह्यौ । त्यसपछि पुनः दुङ्गलटोलमा पुग्यौं जहाँ बुग्देउको रथ थियो । अन्तिम पटक बुग्देउको दर्शन गर्यौ । किनकि सोही दिन हामी फर्किनु थियो । मन केही उदास थियो किनकी मैले मेरो सपनाको गाउँ दोलखा शहर छोड्ने समय विस्तारै विस्तार आउँदै थियो । दोलखामा अन्य धेरै कुराहरु हेर्न र बुझ्न बाँकी थियो तर समयले साथ दिएन ।
मनले चाहेर पनि नहुने रैछ फेरी कुनै दिन हप्ता दिनको समय मिलाई दोलखामा आउने सपना मनमा साँचे । दोलखा छोड्न मनले मानेन । दोलखासंग मेरो भावनात्मक र आत्मियतापन कहाँ र के मा अल्झ्यो मलाई थाहा थिएन र आज पनि मैले पहिल्याउन सकेकी छैन । बारम्बार मेरो मानसपटलमा यो प्रश्न आइरहन्छ । के मा अल्झें या कुन अदृश्य शक्तिले मलाई दोलखातिर तानिन्दैछ । मेरो प्रश्नको उत्तर शायदै मैले नपाउला तर पनि यो मन दोलखामा प्रायः हरेक दिन पुगेकै हुन्छ ।
+ There are no comments
Add yours