Search

यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले पोखरामा गाडीको चाबी नै बैंकलाई बुझाउने अभियान शुरु गरेका हुन ।
प्रा.लि.ले एन.एम.बी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंक समक्ष हालको विषम् अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाई नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।
“हामीले बैंकलाई किस्ता तिर्दैनौँ भनेका छैनौँ, तर गाडी ठप्प भएर कमाइ नभएको अहिलेको अवस्थामा समेत बैंकहरुबाट व्यवसायीलाई निरन्तर ताकेता हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ”, अध्यक्ष केसीले भने, “अहिलेको अवस्थामा किस्ता भुक्तानी गर्ने समय छ महिना पछि सार्न माग गरे पनि कहीँ कतैबाट पनि सम्बोधन भएन ।”
प्रा.लि.ले मातहतका एक हजार ४०० गाडीकै चाबी बुझाइने जनाएको छ । बैँक तथा वित्तिय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलन स्वरुप चाबी बुझाउन बाध्य भएको बताए ।
देशभर तीन लाख यात्रु बाहक तथा ६० हजार मालबाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनु परेको उनले जानकारी दिए ।

एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले आफ्नोे बैंकले यातायात व्यवसायीलाई किस्ता तिर्न ताकेता नगरेको बताउँदै व्यवसायीको मागकाबारेमा राष्ट्र बैंकले ल्याउन लागेको आगामी वर्षको मौद्रिक नीतिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे।
प्रालिले पोखरालाई केन्द्र मानि देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवा सेवा माया तायात सञ्चालन गर्दै आएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!