Search

प्रतिक्षा मृत्युको

प्रतिक्षा मृत्युको
श्रेष्ठ सत्य

नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चाल्र्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाँले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै कर्मचारीहरु पनि उसलाई चार्ली नै भनेर बोलाउने गर्छन् । नर्सिङ होममा भर्ना भएदेखि नै ऊ बोल्न सक्दैनथ्यो । मस्तिष्क सम्बन्धी जटिल रोगका कारण चार्लीले आफ्नो बोल्ने र बुझ्ने सामथ्र्य गुमाएको थियो । त्यसो त उसको व्यक्तिगत फाइलमा पनि विगत ५ वर्षमा विस्तार विस्तार गर्दै अन्ततः उसले आफ्नो सम्पूर्ण वाक् क्षमता गुमाउन पुगेको विवरण उल्लेख थियो । शुरुमा यस नर्सिङ होममा भर्ना हुँदा चार्लीको बानी व्यवहार पनि अन्य बिरामीहरुको जस्तै सामान्य लाग्दथ्यो । उसका दुइवटै आँखाहरु हमेशा बन्द नै रहने गथ्र्यो भने संचारको लागि सांकेतिक भाषाको प्रयोग गर्दथ्यो त्यो पनि अत्ति नै अनिवार्य भए मात्रै । नत्र त ऊ सधैं चुपचाप नै रहने गर्दथ्यो । अन्य बिरामीहरु प्रायजसो समय टिभी हेरेर या रेडियो, गीत सुनेर बस्थे भने चार्ली भने सुनसान र एकान्तमा नै बस्न रुचाउँथ्यो । रेडियो, टिभी खोलेकी रिसाइहाल्थ्यो ।

चार्ली आएको दुइ महिना पनि पूरा नबित्दै नर्सिङ होमका प्राय सबैजसो नयाँ कर्मचारीहरु उसको कोठामा जान डराउन थाले । तिनीहरु कसैलाई चार्लीको कोठामा जानु परेकी केही बहाना बनाएर अन्तैतिर लागिहाल्थे । त्यस अवस्थामा अलि पुरानो कर्मचारी भएको नाताले म नै धेरैपटक चार्लीसँग जानुपर्ने भयो । त्यस क्रममा मैले के कुरा थाहा पाएँ भने चार्ली उसको कोठामा कोही आएको पटक्कै मन नपराउने र कोही उसको नजिक गएकी रिसाएर हात खुट्टा जे पायो त्यसैले हिर्काउने गर्दथ्यो । उसको अनुहार र हाउभाउ देख्दा जोसुकैलाई पनि उसको नजिक पर्न डर लाग्ने गर्दथ्यो । त्यसो त मैले पनि कैयौं पटक उसको लात र मुड्कीको शिकार हुनुपरेको थियो । तर पनि उसको रोगै त्यस्तो हो भनेर म धैर्यपूर्वक उसकोमा जाने गर्दथें । म उसले बुझ्दैन भन्ने जानकारी भए पनि उसँग कुरा गर्दै र आफूले के गर्न लागेको सबै उसलाई जानकारी दिंदै आफ्नो काम गर्थें । बिस्तारै चार्लीले मप्रतिको अत्याचार कम गर्दै जान थालेको थियो ।

मेरो रात्री ड्युटी, त्यस रातको करिब एक बजेतिर म चार्लीको कोठामा उसको नियमित औषधि दिन गएको थिएँ । उसलाई औषधि दिइसकेर म उसको कोठाबाट बाहिर निस्कन ढोका खोल्दै थिएँ । पछाडिबाट कसैले मेरो नाम लिएर बोलायो । म भयभीत र आश्चर्यचकित हुँदै पछिल्तिर फर्कें । “हो सोनी, म नै हो तिमीलाई बोलाउने । तिमी केही अनौठो नमान । म राम्रैसँग बोल्न सक्छु तर यो दुनियाँमा मलाई अब कति पनि बोल्ने धोको र इच्छा छैन । वाल्यकालमा बोल्न जानेदेखि नै बोल्न थाल्ने मानिस जीवनभर बोलेर कहिल्यै थाक्दैन । चाहिने नचाहिने अझ भनौं नचाहिने नै बढी बोलेर मानिसले आफ्नो समय त्यत्तिकै बिताइरहेको हुन्छ । समाजले पनि बोल्नलाई नै प्रोत्साहन दिने र बोल्नेलाई मात्र सम्मान गर्ने हुनाले पनि आज समस्त मानव जाती बेकारको बोली र बकवासमा अल्झिएको छ । मैले आफ्नै जीवनबाट जानेको र अनुभव गरेको कुरा पनि यही हो की बोल्नु शक्ति, सामथ्र्य र मस्तिष्कको घोर दुरुपयोग मात्र हो । ” चार्ली अचानक बोल्न थालेकोमा म अचम्म मान्दै उसको नजिक पुग्दा चार्ली मेरो प्रतिक्रियाको प्रतिक्षा नै नगरी आफ्नै सुरमा बोल्दै जान थाल्यो ।

“मानिस आज बोलीकै कारण अती बेइमान, असत्य र भ्रष्ट बन्न पुगेको छ । मन भित्र दुश्मनीको पोको बोकेर बोलीले मात्र कसैको मित्र बनेको छ, मान्छे आज । यो यथार्थ बुझे, जानेदेखि नै मैले विस्तारै बोल्न बन्द गर्दै गएँ ……………।” मलाई चार्ली बोलेको देखेर डर लाग्न थालेको थियो र मैले त्यहाँबाट उम्किनका लागि आफ्नो अर्कै अत्यत्तै जरुरी काम भएकोले जान लागेको बताएँ तर चार्लीले मलाई रोक्दै झन् सक्रिय हुँदै बोल्न थाल्यो ।

“मलाई थाहा छ, सोनी तिमीलाई मेरो कुरा सुन्न डर लागिरहेको छ तर मेरो केही कुरा सुने पछि तिमी जान सक्छौ ।” मैले उसले अर्को कुरा शुरु गर्नु अघि नै उसलाई यतिन्जेल नबोल्नुको कारण खोल्न भनें । ऊ पनि आफ्ना दुइ वटै आँखा चिम्लिएर विस्तारै बोल्न थाल्यो । “मैले भनि हालें नि तिमीलाई, बोलेर फाइदा नै के छ र ? एक क्षण सोंच त तिमी । मानिस पनि अन्य प्राणी सरह नबोल्ने भइदिएको भए ऊ कति निर्दोष, स्वस्थ, स्वच्छ र प्राकृतिक हुने थियो होला । मैले जीवनभरि बोलेर नै बोल्नुको निरर्थकता अनि बोल्न लायकको मान्छे पनि कोही नपाएरै बोल्न बन्द गरेको हुँ । तिमी विश्वास गर अन्य कुनै विशेष कारण छैन । तर यो रातमा तिमी जस्तो धैर्यवान र सेवाप्रेमी व्यक्तिसँग मलाई यो रातको महिमा गान गाउन मन लाग्यो । वास्तवमा रात कति रमाइलो छ, कति प्यारो छ ? सम्पूर्ण दुष्ट मानव प्राणीहरु मरेतुल्य ढलिरहेको रातको समय यो पृथ्वी र यहाँका मानव इतर सबै प्राणीहरु पनि खुबै रमाउँदा हुन् । नत्र दिनभरि त उसको होहल्ला, अत्याचार र चकचकी कहाँ सहिसक्नु हुन्छ र, कि कसो ?”

जतिसक्दो चाँडो उसबाट उम्किएर जानलाई मैले भनें – “चार्ली, रात निकै बितिसकेको छ । तपाइँ आरामका साथ निदाउनुहोस्, म तपाइँको निंदमा बाधा पु¥याउन चाहन्न ।”

“मलाई थाहा छ, तिमी किन यो सबै भन्दैछौं तर सत्य त यही हो की विगत पाँच वर्षदेखि म रातको यस एक बजेदेखि चार बजेसम्मको समय बीचमा कहिल्यै सुतेको छैन । यस समयमा मानिसहरु सबैजना गहिरो निद्रामा रहने हुँदा प्रकृतिको सुमधुर संगीत स्पष्ट सुन्न सकिन्छ र त्यो संगीत जस्तो मीठो र मनमोहक यस दुनियाँमै अन्य कुनै संगीत छैन । ठिकै छ, तिमी अब जान सक्छौ । तर मैले बोल्न सक्छु भन्ने कुरा कसैलाई नभन्नू । तिमी पनि अरु मानिसहरु भएको बेलामा मसँग पहिलेको जस्तै व्यवहार गर । धन्यवाद ।”

यति बोलेर चार्ली म गएको नगएको वास्तै नगरी आँखा चिम्लेर पून मूकवत आफ्नो ओछ्यानमा पल्टिरह्यो । मैले उसलाई “शुभरात्री ” भनेर बाहिर निस्कें तर उ स्तब्ध नै थियो ।

चार्लीको कोठाबाट बाहिर निस्केर नर्सिङ स्टेशन पुग्दा नपुग्दै मलाई चार्लीको बोल्ने क्षमतामाथि पूनः शंका लाग्यो । मलाई ती सबै घटना सपना हो की भनी चिसो पानीले मुख धोएर एकक्षण आराम गरें । भोलिपल्ट म्यानेजरलाई यो कुरा भन्ने की नभन्ने यसै दोधारमा मैले त्यो रात काटें ।
नर्सिङ होमको नियम कानून अनुसार मैले चार्लीको सबै कुरा म्यानेजरलाई बताउनै पर्ने थियो तर मैले चार्लीको म प्रतिको भरोसालाई नतोड्ने निर्णय गरें । बरु चार्लीको यो स्वभाव बारेको अन्य थप रहस्यहरु पनि खोतल्ने इच्छा जाग्यो मलाई । त्यस पछिका दिनहरुमा म काममा अलिक फुर्सद भए पनि चार्लीकै कोठामा पुगिहाल्थें । यसरी चार्लीसँग मेरो बिस्तार बिस्तारै लामै समय बित्न थालेको थियो । तर चार्ली जुनसुकै बेला मसँग बोल्ने गर्दैनथ्यो । कहिलेकाहीं मात्र बोल्न खोज्थयो तर के सोचेर हो फेरि पनि मौनतामै लीन रहन्थ्यो । एक दिन फेरि म उसको कोठामा जाँदा उसले आफैं सोधेको थियौ “तिमीलाई संगीत कतिको मन पर्छ ? ”

“मनपर्छ अलि अलि तर यो अंग्रेजी संगीत होइन, हाम्रै नेपाली संगीत, त्यसमध्ये पनि लोकसंगीत ।” मैले हाँस्दै बताएको थिएँ ।
उसले मलाई भनेको थियो – “धत् के भनेको तिमीले यस्तो ? संगीतको पनि कुनै भाषा र सीमित क्षेत्र हुन्छ र कहीं ? म एक जमानाको बेलायतको ठूलो संगीतकार हुँ । मेरो मनपर्ने वाध्य गितार थियो । गितार नै मेरो जीवन बनेको थियो एकताका । तर प्रकृतिमा नै गितार, पियानोको भन्दा कयौं गुना मीठो संगीत बजिरहेको हँुदोरहेछ । जुन दिनदेखि त्यो संगीत सुन्न थालें, गितार र पियानो फिक्का लाग्न थाल्यो । यो मानवीय कोलाहलमा हुन त यो प्रकृतिको संगीत सुन्न धेरै गा¥हो छ तर हामी मौन भएर सुन्यौं भने त्यति कठिन छैन । प्रकृतिको संगीत भन्नु नै मौनता हो । प्रकृति मौनमै गाउँछे, मौनमै नाच्छे । त्यसैले त म तिमीसँग बारम्बार भन्ने गर्छु नि– शान्ति र मौनता भन्दा मीठो संगीत अरु कुनै पनि छैन भनेर । फेरि यो संगीत बुझ्न र सुन्न कुनै पनि भाषाको ज्ञान जरुरी छैन । यो त सर्वव्यापी र सर्वप्रिय संगीत हो । यसलाई जो कसैले पनि सुन्न सक्छ र जसले पनि महशूस गर्न सक्दछ । ”

म त उसको यो कुरा बुझ्नै सकिरहेको थिइनँ । चार्ली लामो समयसम्म संगीत, मौनता, प्रकृतिको विषयमा के के हो बोलिरह्यो । त्यस्तैमा अचानक ढोकामा कसैले ढकढक गरे पछि ऊ सदा झैं आफ्ना मुख र आँखाहरु बन्द गरेर आफ्नै मौन जगतमा हराउन पुग्यो भने म त्यस कोठाबाट निस्किएर अर्कै बिरामीकोमा जानुपर्ने भयो ।

चार्लीको आश्चर्य लाग्दो स्वभाव र कुराहरु देखेर, सुनेर म त छक्क परिरहेको थिएँ । ऊ बोल्न पनि सक्छ भन्ने कुरा त्यो नर्सिङ होम भरि कसैलाई पनि थाहा थिएन । चार्ली मसँग सदैव यस्तै गहिरो र गहन कुरा गथ्र्यो । म उसका कमै कुराहरु मात्र बुझ्दथें । शायद उसको कुरा सुन्न पाएको भए अरुलाई पनि त्यत्तिकै कठिनाइ पथ्र्यो होला उसका कुराहरु बुझ्नलाई । शायद अरुले नबुझ्ने भएर नै होला उसले बोल्न छाडेको । उसको अनौठो लाग्दा कुराहरु सुन्न मलाई चाख लाग्थ्यो भने कहिले काहीं मलाई डर पनि लाग्ने गर्दथ्यो ।

हरेक शनिबार र आइतबार चार्लीको परिवार उसलाई भेट्न नर्सिङ होममा आउने गर्दथे । आफ्नो परिवारसँग पनि चार्ली केही नबोली मूककै अभिनय गरिरहन्थ्यो । एकदिन मैले चार्लीलाई यसै विषयमा सोधेको थिएँ – “चार्ली के तपाइँलाई आफ्नै परिवारसँग पनि बोल्न मन लाग्दैन त ? ”
“परिवार ? एक व्यक्तिका लागि आफ्नो परिवार जति बिरानो को नै हुन्छ होला र ? अरु त टाढा भएर पराइ हुन्छ तर परिवार आफूसँगै रहेर पनि कति टाढा हुन्छ ? यो कुरा मैले आफ्नै जीवनबाट बुझेको र भोगेको छु । यो संसारमा अलिकति बुझ्ने हो भने सबैजना परिवार हो नबुझे कोही पनि कोही होइनन् । मलाई राम्ररी थाहा छ की म मरेको दिन सबैभन्दा बढी मेरै परिवारका सदस्यहरु खुशी हुनेछन् । उनीहरुले मलाई यहाँ राखेर उनीहरु एक झण्झटबाट त मुक्त भए तर मेरो देहान्त पछि उनीहरुले प्रत्येक शनिबार र आइतबार मलाई यहाँ भेट्न आउनुपर्ने झण्झटबाट पनि छुट्कारा पाउनेछन् । मलाई थाहा छ, यो नर्सिङ होम त एक प्रतिक्षालय हो मृत्युको, यहाँ बसेर मानिसहरु मृत्युको प्रतिक्षा गरिरहन्छन् । प्रत्येक परिवार आफ्नो बा आमालाई यहाँ छाडेर गएको दिनदेखि नै उनीहरु तिनीहरुको मृत्युकै खबर सुन्न मात्र लालयित हुन्छन् । यी सबै जानेर पनि म कति पनि दुखी छैन । मैले त यो समस्त धर्तीलाई नै प्रतिक्षालयकै रुपमा बुझेको छु । जन्मेकै दिनदेखि मानिसहरु यहाँँ मृत्युकै प्रतिक्षा गरिरहेको हुन्छ तर प्रत्येक व्यक्ति आ–आफ्नै तरिकाले काललाई कुर्छन्, कोही पढेर, कोही पढाएर, कोही खेलेर, कोही नाचेर, कोही गाएर, कोही रोएर त कोही हाँसेर तर गजब के छ भने उनीहरु कसैलाई थाहा छैन की कालको प्रतिक्षा गरिरहेको छु भन्ने । मैले पनि धेरै समय गितार बजाएर मृत्युलाई कुरें अब यो मौनको संगीत सुनेर कुर्दैछु । जीवनमा मैले कमाउनु पर्ने जति सबैथोक कमाएँ । आफूले चाहेको सबै कुरा प्राप्त गरें र भोग्नुपर्ने जति सबै भोगें तर ती कसैले मानिसलाई कहिल्यै पनि तृप्ति र सन्तुष्ट दिन नसकेको पाएँ मैलै । भोग्दै जाँदा ती सबै कुराहरु व्यर्थ हँुदै जाँदा रहेछन् । त्यसै अर्थमा पनि मलाई अब केही चाहना छैन र जीवनप्रति कुनै अनुराग पनि छैन । ”

यति बोलेर चार्ली आफ्ना दुवै आँखा चिम्लेर एकक्षण चुपचाप रहेपछि फेरि मतिर फर्केर बोल्न थाल्यो –“ सोनी, जीवनमा उमेर बढेर, कपाल फुलेर या छाला चाउरिएर मात्र कोही पनि मानिस परिपक्व भएको ठहरिंदैन । मलाई त लाग्छ, परिपक्व व्यक्ति त उही हो जसले जीवनमा सबै तत्वको व्यर्थता बुझ्दछ । पाको त उही हो, जो भोग विलास, धन सम्पति, पैसा र पद लगायत सम्पूर्ण क्षणिक तत्वहरुबाट अघाउँछ । तर मानिस त जहिले पनि अझ अरु, थप अरु को रोगले ग्रस्त छ । धनदौलत, मानसम्मान, पदप्रतिष्ठा अनि भोगविलासले कहिल्यै अघाउँन जान्दैन र त्यस्ता मानिसहरु जीवनमा अतृप्त र कच्चै भएर मर्छन् । मलाई थाहा छ यस्ता कुराहरु गर्नु व्यर्थ छ आजको मानव समाजमा, त्यसैले पनि मैले बोल्नुको कुनै पनि अर्थ छैन । तिमीलाई पनि मेरो कुरामा कुनै रुचि छैन तर तिमी कम से कम सुन्न त सक्छौ, कि त्यो पनि सक्दैनौ ?”
त्यो बोल्न नसक्ने अनि केही कुरा नबुझ्ने भनिएको चार्लीको यस्ता लामा र अनौठो लाग्दा कुरा सुन्दा शुरुका दिनहरुमा म अन्यौलमा परेको भए तापनि पछिल्ला दिनहरुमा यो क्रम सामान्य बन्दै गएको थियो मेरा लागि । चार्ली हरेक पटक खालि यस्तै अनौठो लाग्दो कुराहरु मात्र गर्ने गर्दथ्यो । उसको न त कुनै कुराहरुसँग मोह देखिन्थ्यो न त तिव्र रोष नै । उसमा त्यस बाहेक अरु पनि बडो अचम्म लाग्दो गुणहरु थियो । ऊ आँखा चिम्लेरै उसको कोठामा कसले के गर्दैछ सबै थाहा पाउँथ्यो । कसैले उसलाई मन नपर्ने केही काम ग¥यो भने ऊ तुरुन्तै आफ्नो शिरानी नजिकै रहेको लौरो लिएर हिर्काइहाल्थ्यो । कतिपय अवस्थामा उसले अरुले मन मनै के सोच्दैछ त्यो पनि थाहा पाएको भान भएको थियो मलाई । त्यसैले त प्रायजसो जब मलाई उसको कुरा केही नबुझेर वाक्क लागेर आउँथ्यो अनि ऊ तत्कालै भन्ने गर्दथ्यो – “हो, मलाई थाहा छ, तिमीलाई मेरो कुरा सुन्न कति पनि मन परिरहेको छैन । मैले गरे जस्तो कुरा सुन्न यो संसारमा कसैलाई पनि मन छैन । उनीहरुलाई त लगाव छ – अर्थशास्त्रमा, धर्मशास्त्रमा, व्यापार, राजनीति, चलचित्र, खेलकुद र यस्तै वाहियात कुराहरुमा । मेरा लागि यी कुराहरुको कुनै पनि मूल्य छैन र यदि कोही व्यक्ति वास्तवमै परिपक्व मानिस छ भने तिनीहरुलाई यस्ता कुराहरुमा कुनै पनि रुचि र लगाव हुँदैन । खै यी मानिसहरु कतिन्जेल यस्ता मूल्यहीन र अर्थहीन कुराहरुमा अल्झिरहने हुन् ?” चार्ली निकै चिन्तित देखिन्थ्यो ।

नर्सिङ होममा बस्न थालेको केही महिना भित्रै चार्लीको स्वास्थ्यस्थिति सुध्रदै जान थालेको थियो । ऊ हृष्टपुष्ट भएर मोटाउँदै पनि गएको थियो । यस्तैमा चार्लीलाई नर्सिङ होमबाट डिस्चार्ज गरेर घर पठाउने कुरा पनि उठेको थियो । मैले यसमा सुटुक्क उसको राय बुझ्न खोजें र एकदिन उसलाई सोधें – “चार्ली तपाइँ चाहनुहुन्छ भने अब आफ्नो घर जान सक्नुहुन्छ ।” उसले हाँस्दै भनेको थियो – “घर ? म अब घर फर्किनुहुँदैन । मेरो परिवार पनि यो चाहँदैनन् । तर मलाई घर लैजानु र नलैजानुमा अब केही पनि फरक छैन किनकी म अब एक महिना पनि पूरा बाँच्दिन, यो मलाई राम्रै थाहा छ । ” चार्लीले मलाई भविष्य छर्लंग थाहा पाए जस्तै मलाई आफ्नो मृत्यु हुने कुरा बताएको थियो । मैले उसलाई यति भन्न भ्याएको थिएँ “चार्ली तपाइँ सधैं यस्तै वाहियात कुरा गर्नुहुन्छ क्या । तपाइ दिनदिनै स्वस्थ र फूर्तिलो हुँदै जानुभएको छ । अनि कहाँ मर्ने कुरा गर्नु भएको नि फेरि ? ”

“त्यसैले त म भन्दैछु नि तिमीलाई । मर्नु अगाडि प्राय सबै मानिसको स्वास्थ्यमा अनपेक्षित सुधार आउँछ । यो उसको शरिरको कारण होइन बरु उसको भित्री उर्जाको कारणले हो । जसरी निभ्ने बेलामा बत्ती अति चहकिलो बल्छ, म पनि अहिले सोही अवस्थामा छु ।” चार्ली आफू मर्ने कुरा मसँग निश्चिन्त भएर भनिरहेको थियो ।

मलाई चार्लीको कुरामा कुनै पत्यार नलागे पनि म उसँग कुनै विवाद नगरी चुपचाप उसको कोठाबाट बाहिरिएँ ।
अन्ततः चार्ली नर्सिङ होममै रहने भयो । उसको परिवारले उसलाई घर लैजान अस्वीकार गरिदिएको थियो ।
चार्लीले मसँग उसको मृत्युको बारे कुरा गरेको तीन हप्ता जति पछि नै म आफ्नो काम सकेर घरतिर फर्किंदै थिएँ । बाटोमा मेरो मोबाइलमा यौटा म्यासेज आयो । जसमा लेखिएको थियो । “हाम्रो सेवाग्राही चार्लीको भर्खरै निधन भयो । ” त्यो मैले काम गर्ने नर्सिङ होमले मेरो लागि पठाएको सन्देश थियो । मलाई त्यो म्यासेजप्रति विश्वास लागेन र तुरुन्तै नर्सिङ होममा फोन गरेर चार्लीको बारेमा सोधें । फोनमा एकजना सहकर्मी मित्रले भन्यो – “हो, चार्लीको शवलाई अब बाहिर लैजाने तयारी हुँदैछ, उसको परिवारहरु बाटोमा आउँदैछन् ।”
भोलिपल्ट काममा जाँदा नर्सिङ होमको सूचना पाटीमा यौटा सूचना टाँसिएको थियो – “आउँदो सोमबार चार्लीको शवयात्रामा सहभागी हुन चाहने कर्मचारीहरुले कृपया प्रशासनमा जानकारी गराउनु ।”

मलाई विश्वास गर्न गा¥हो भए पनि चार्लीको साँच्चै मृत्यु भएकै हो रहेछ । मेरो कानमा चार्लीको त्यही भनाइ गुंजिन थाल्यो – “ यो संसार त एक प्रतिक्षालय हो – मृत्युको ।”

भीमेश्वर नगरपालीका वडा नं. २, दोलखा, नेपाल
हाल, बेलायत

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!