(बाँपीझ्याला) लामो समयदेखि तरलता अभाव (लगानीयोग्य रकम) झेलेका बैङ्कलाई अहिले धेरै तरलता भएर लगानी कहाँ गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । अघिपछि बजारमा लगानी योग्य रकम कम हुँदा प्रवाह गर्ने र बढी हुँदा प्रशोधन गर्ने राष्ट्र बैङ्क अहिले बैङ्कमा थुप्रिएको पैसा नतान्ने पक्षमा छ । कारण बैङ्कहरुलाई लगानी प्रवाहमा बाध्य बनाइनको लागि हो । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार नियामकले अहिले बैङ्कको पैसा नतान्नुको कारण कर्जा प्रवाहमा बाध्य बनाउन हो । उनी भन्छन, ‘अहिले हामी बैङ्कको पैसा तान्ने पक्षमा छैनौ, जसरी हुन्छ उनीहरुको लगानी विस्तारमा बाध्य बनाउने हो ।’
बैङ्किङ सिस्टममा अहिले १ खर्ब ३७ अर्ब (मङ्गलबारसम्म) तरलता छ । भट्टका अनुसार सरकारको खर्च पछिल्लो समय बढेको छ । आयात धेरै भएको छैन । रेमिट्यान्सको अवस्था सामान्य छ जसका कारण बैङ्कहरुमा तरलता थुप्रियो । राष्ट्र बैङ्क बजारलाई सकेसम्म कर्जा उपलब्धतामा सहज बनाउने पक्षमा छ ।
यता बैङ्करहरु कर्जाको माग नै नआएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा छन् । लकडाउनका कारण लगानी गर्ने ठाउँको सुनिश्चितता नहुँदा कर्जाको माग समेत भएको छैन । बैङ्कमा निक्षेप बढेको बढ्यै छ तर कर्जाको माग छैन । बैङ्कर्स संघको तथ्याङ्कअनुसार पछिल्ला तीन सातामा ५७ अर्ब निक्षेप थपिएको छ तर कर्जा प्रबाह भने घटेको छ ।
कुनै बेला कर्जाको माग आउँदासमेत ठुलो रकमको कर्जा उपलब्ध गराउँन नसक्ने भन्दै ग्राहक फर्काउँने बैङ्कहरुलाई अहिले पैसा ठाउँ खोजिरहेका छन् । एक बैङ्कर भन्छन्, ‘कुनै बेला हामीसँग लगानी गर्ने पैसा हुन्थेन त्यतिबेला कर्जाको माग आउँथ्यो दिन सकेन भने बैङ्कहरु कर्जा दिनै नसक्ने अवस्थामा पुगे भनेर आलोचना हुन्थ्यो तर अहिले पैसा छ कर्जाको माग छैन । जहाँ पायो त्यहाँ लगानी गरेर पनि भएन ।’
विगत ३÷४ वर्षसम्म दबाबमा भएको तरलता अहिले सहज अवस्थामा छ तर यसलाई सो बेलादेखि अहिलेसम्मकै बढी भन्न नमिल्ने भट्टको भनाइ छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट राष्ट्र बैङ्कले ४ प्रतिशतको सीआरआर घटाएर ३ प्रतिशतमा झारेपछि यो व्यवस्थाले बैङ्कमा तरलता बढाउन भूमिका खेलेको छ । अर्कोतर्फ लकडाउनले लगानीकर्ताले लगानी गर्ने ठाउँको पहिचान गर्न सकेका छैनन ।