ए हजुर !

ए हजुर !

धीरकुमार श्रेष्ठ

लौ न ए हजुर !
उठ्ने बेला भएन ?
कति सुत्नुभएको ?
कुखुराको भाले बासेको अहिले हो !
बास्दा बास्दा उसको पनि घोक्रो सुक्न लागिसक्यो
अझै उठ्ने बेला भएन ?

‘राति बेलैमा सुत्नुस्
बिहान सबेरै उठ्नुस्’
भन्दा मान्नुभएन
अबेरसम्म के के गरेर बसिरहनुभयो
को कोसँग भेटघाट गरिरहनुभयो
के के बात मारिरहनुभयो
अहिले उठ्ने बेलामा चाहिँ सुत्नुभयो !
सुत्नु पनि यति कि उठ्नै बिर्सिनुभयो
अझै उठ्ने बेला भएन ?

रोटीबेटीको नाता जो छ
यसैले
छिमेकी छिमेकीका बिच
असल सम्बन्ध हुनुपर्ने हो
हुनुपर्ने भन्दाभन्दै
नहुनुपर्ने भइसक्यो
उपरीमाथि थुपरी भने जस्तो
भलबाढीमा डुब्ने उत्रिने भइरहेका बेला
त्यान्द्रोको सहारा पनि छिनिदिने काम भयो
यति हुँदाहुँदै पनि बिउँझिने बेला भएन भन्या ?
अझै उठ्ने बेला भएन ?

करेसो जोडिएपछि
एकअर्कामा आँखा नलगाउनुपर्ने होइन ?
एकअर्काको हित चिताउनुपर्ने होइन ?
एकअर्काको मानसम्मान गर्नुपर्ने होइन ?
मान गर्दागर्दै मानकै अपमान भइसक्यो
भर परेका बेला
डर मर्नुअभर भइसक्यो
खुट्टो टेक्ने जमिन दिँदा
गजधम्म ढलिमली भइसक्यो
औँला दिँदा
डुँडुलो निल्नआँटिसक्यो
बारीका पाटा हुँदै
सँघारसम्मै आइपुग्न लागिसके
यति हुँदाहुँदै पनि जाग्ने बेला भएन भन्या ?
अझै उठ्ने बेला भएन ?

आफू ढलेरपर्खाल ढल्न नदिएका
गोविन्द गौतमका छातीहरु
चिरा चिरा पर्न लागिसके
आँगन जोडिएकाहरुले
पर्खालहरु फोर्न लागिसके
नगाड्नुपर्ने आँखा गाडिसके
यति हुँदाहुँदै पनि चेत्नुपर्ने होइन र भन्या ?
अझै उठ्नुपर्ने होइन र?

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!